तलाऊ आज जस्तै हिजो पनि थियो
माछाहरु आज जस्तै हिजो पनि थिए
ठूला माछाहरु बेपर्वाह पौडिरहेकै थिए
साना माछाहरु निरुपाय मरिरहेकै थिए
समय फेरियो
माछाहरु फेरिए, पोखरी फेरिएन।
भ्यागुत्ताहरु
हिजो पनि पानी र जमीन गर्थे
आज पनि तिर्खा लागे
बुत्रुक्क गर्छन् र धमिल्याउँछन् पोखरी
अघाउँजी बस्छन् र फर्कन्छन् किनारा
अजीर्ण भ्यागुत्ताहरु
हिजो जस्तै आज पनि छन्
समय फेरियो
भ्यागुत्ताहरु फेरिए, पोखरी फेरिएन।
तलाउको डिलमा उभिएर
धेरै गोठालाले हेरे
आफ्नो प्रतिबिम्ब
पत्थर फ्याँके र रमाए
पर परसम्म फैलिएको तरंग हेरेर
हिजो पनि त्यहाँ गोठालाहरु पौडिए
आज पनि त्यहाँ गोठालाहरु पौडिरहेछन्
समय फेरियो
गोठालाहरु फेरिए, पोखरी फेरिएन।
गोठालाहरु हिलाम्य छन्
र पनि रमाएकै छन्
गोठालाहरु गन्हाएका छन्
र पनि रमाएकै छन्
गोठालाहरुलाई गन्हाउनुसँग होइन
पौडनुसँग सरोकार छ
किनकि,
पोखरीमा हिजो अर्कोको सरकार थियो
आज अर्को एउटाको सरकार छ
समय फेरियो
सरकार फेरियो, पोखरी फेरिएन।
जब उभिन्छु पोखरीको डिलमा
भुसुक्कै बिर्सन्छु म
देशको कविता लेख्न
मलाई देश नै पोखरी जस्तो लाग्छ
मलाई पोखरी नै देश जस्तो लाग्छ।
पुरुषोत्तम लम्साल
५ माघ २०७७, सोमबार
प्रतिक्रिया दिनुहोस