असोज ६, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले आफूहरुसँग गरेको तीनबुँदे सहमति पालना नगरे त्यसलाई तोड्ने चेतावनी दिएका छन् । जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले अर्को शर्त थोपर्न खोजे वा घुमाउरो घेरा हाल्न खोजे आफूहरुले त्यसलाई तोड्ने उनको भनाइ छ ।
पोखरामा बुधबारदेखि शुरु भएको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफूहरु तीनबुँदेमा इमान्दार रहेको तर, सरकार आफूहरुलाई दबाबमा राख्न नाटक गरिरहेको टिप्पणी गरे ।
‘सहमति गर्ने लागू नगर्ने के हो यो ? के तपाईंहरु हामीलाई अर्को कुनै दबाबमा राख्न चाहनुहुन्छ ? अप्ठेरोमा पार्नपर्छ भन्ने ठान्नुहुन्छ ? हामीले तीनबुँदे गरेका छौं । त्यसमा इमान्दार छौं । शान्तिपूर्ण मान्न तयार छौं,’ उनले भने, ‘तर, अर्को कुनै शर्त थोपरिन्छ भने, जेलका साथीहरुलाई छुटाउनका लागि कुनै घुमाउरो तरिकाले घेरा हाल्न खोजिन्छ भने घेरा तोडिदिन्छौं ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरुले विश्वास गरेर सहमति गरेको ७ महिना बितिसकेको भन्दै विप्लवले भने, ‘हामीले त केपी ओलीसँग एउटा विश्वास गरेर सहमति गरेका हौं । शेरबहादुर देउवासँग भेटेर पनि भन्यौं । उहाँसँग राम्रो कुरा पनि भयो । उहाँले लागू हुन्छ, पालना हुन्छ पनि भन्नुभो । तर, उहाँहरुसँग भेटेको पनि २–३ महिना बित्न थालिसक्यो ।’ महासचिव विप्लवले आफूहरुले सरकारसँग कुनै दयामाया नमागेको तर, सहमति मात्रै लागू गर्न आग्रह गरेको बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच फागुन २१ गते तीनबुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तत्कालीन सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्नेलगायत सहमति भएको थियो ।
‘एमसीसी राष्ट्रघाती सम्झौता’
महासचिव विप्लवले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती सम्झौता भएको बताएका छन् । उनले नेपालको ‘राजनीतिक भाँडभैलो’ र ‘असफल’ राज्यमा अमेरिकाले फाइदा उठाएर हिँड्न चाहेको दाबी गरे ।
‘एमसीसी राष्ट्रको विरुद्धमा छ, जनताको विरुद्धमा छ । यो गर्नुहुँदैन । तलतल काम भइसकेको (एमसीसीको) सुनेका छौं,’ उनले भने, ‘जनताको अनुमतिबिना त्यो गर्नुहुँदैन, जनताको सहमतिबिना एमसीसीलाई जबर्जस्ती लागू गरियो भने त्यो सम्भव छैन ।’
विप्लवले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको एमसीसीबारेको तर्क सुनेर आफूहलाई अनौठो लागेको बताए । ‘अमेरिका गएर फर्किएपछि बाबुरामजीको तर्क सुन्दा अनौठो लागिरा’छ,’ उनले भने, ‘सिन्धुलीमा गएर यो किन विरोध गर्ने ? जेको पनि विरोध गर्ने भन्नुभएछ । बाबुरामजी त्यहाँ पुग्नुभा’छ । हाम्रो एकदम सदासयता छ । तर, एमसीसीलाई बोकेर हिँड्नु भनेको आगोको भुंग्रोमा पस्नुजस्तै हो ।’
उनले हालको संसदीय व्यवस्था फेल भइसकेको दाबी गर्दै परिवर्तनका लागि जनमत संग्रह गर्नुपर्ने दोहो¥याए । बुधबारबाट शुरु भएको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन असोज ८ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस