दाङमा होटलमा वास बसेका एक युवाको मृत्यु


असार ८, दाङ । पाल्पाली होटल एण्ड लज घोराही–१४ मा आइतबार राति बास बसेका आकाश खड्काको मृत्यु भएको छ ।

सोमबार बिहान करिब साढे चार बजेतिर छट्पटाइराखेको अवस्थामा देखेकोे होटल सञ्चालक गोपाल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार शौचालय नजिक रहेको कोठामा खड्का बसेका थिए । बिहान शौचालय जाने बेलामा ढोका खुलै राखेको र छटपटाइरहेको अवस्थामा देखिएका हुन् । लगतै दामोदर चोकको प्रहरी विटलाई जानकारी गराइएको थियो । केही बेरमै होटलमा पुगेको वडा प्रहरी कार्यालय प्रमुख ह्देश सापकोटा नेतृत्वको प्रहरीले होटलको कोठा नियन्त्रणमा लिएको थियो ।

आकाश भनेर चिनिने ३५ वर्षीय जागेश्वर खड्का घोराही–१८ दीपज्योति टोलका वासिन्दा हुन् । लकडाउनको बखत होटलमा किन बसालियो, त्यति सबेरै कोठामा होटलवाला किन गए भनेर मृतकका आफन्तले प्रश्न उठाएका थिए । शंका मेटाउन प्रहरीले गहिरो अनुसन्धान गर्नुपर्ने टोलका पूर्वअध्यक्ष यज्ञराज खत्रीले बताउनुभयो । उक्त घटना सार्वजनिक भएपछि घोराही–१८ का अध्यक्ष भरतमणि अर्याल, घोराही–१४ का अध्यक्ष शक्तिराम डाँगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीलगायतको उपस्थिति थियो ।

पोष्टमार्टमपछि मृतकका आफन्तले शव बुझेको घोराही उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका अध्यक्ष अर्यालले बताउनुभयो । उहाँका अनुसार त्यसको रिपोर्टसहित अनुसन्धानको पाटो बाँकी छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । साँझ अबेर होटल पुगेका खड्का मापसे गरेको अवस्थामा पसेको प्रत्यक्षदर्शीले प्रहरीलाई बयान दिएका छन् । त्यो होटलमा अरु बेला पनि जाने बस्ने गरेका चिनजानका व्यक्ति भएको प्रहरीको भनाइ छ । ‘बाह्य चोटपटक देखिदैन’– वडा प्रहरी प्रमुख सापकोटाले भन्नुभयो– ‘अरु कुनै कारण भए अनुसन्धानबाट खुल्ला ।’ उहाँका अनुसार पोष्टमार्टम रिपोर्ट अनुसार अनुसन्धान अघि बढ्छ ।

८ असार २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको