दाङमा लकडाउन लम्ब्याइयो

फाइल तस्बिर

असार ८, दाङ । स्थानीय प्रशासनले बैशाख १७ गतेदेखि जिल्लामा जारी लकडाउनलाई असार १५ गतेसम्म लम्ब्याएको छ ।

मंगलबार फेरि एक हप्ताको लागि लकडाउनको समय थपिए पनि अन्य ठाउँहरुमा जस्तो दाङमा खासै नयाँ कुरा केही भएको देखिएको छैन ।

काठमाडौं लगाएका ठूला सहरमा पछिल्लो समय सार्वजनिक यातायात जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न थालिएको छ ।

यहाँका यातायात ब्यबसायीहरुले पनि त्यही सोच बनाएका थिए । ‘अबदेखि यात्रुबहाक सार्वजनिक गाडीहरु जोर बिजोर प्रणालीका आधामार सञ्चालन हुन्छन् भन्ने विश्वास थियो,’ एक चालकले भने ‘ तर, यसपटक पनि हाम्रा बसहरु चलाउने अनुमति नदिनु घोर अन्याए हो ।’

त्रिशिद्धेस्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले पनि काठमाडौं लगाएतका ठाउँमा सार्वजनिक गाडीहरु सञ्चालनमा ल्याइदापनि दाङमा अझैं प्रतिबन्ध कायम राख्नु न्यायोचित मान्न नसकिने धारणा राखे ।

जोर बिजोर प्रणाली लागु गरेर चलाउन सक्ने अवस्था रहँदा रहँदै त्यसो नगरिनु अन्याए भएको उनको भनाई थियो । उनले निजी सवारी साधन पहुँचका आधारमा सहज रुपमा सञ्चालन भइरहेको भन्दै निजी गाडीले कोरोना नसार्ने तर, यात्रु बहाक बसले मात्रै कोरोना फैलन्छ भन्ने सोच बिभेदकारी भएको बताए ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मंगलबारको बैठकले चिया पसल, खाजा घर जस्ता ठाउँहरु खोल्न नपाइने निर्णय गरेको जानकारी दिए । तर, होम डेलिभरीको सुबिधा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गर्न पाउने ब्यबस्था गरिएको पौडेलले बताए ।

त्यस बाहेक अन्य बजार भने बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाउने ब्यबस्था गरिएको छ । यसअघि बजार दिउँसो १ बजेसम्म खोल्न पाइन्थ्यो ।

सरकारी कार्यालय र बैंक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि यी कार्यालय दिउँसो २ बजेसम्म खोल्न पाउने ब्यबस्था थियो ।

८ असार २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको