अफगानिस्तानमा तालिबानको जितप्रति इस्लामिक स्टेट किन भयो असन्तुष्ट ?


भदौ ५, काठमाडौँ । आफूलाई ‘इस्लामिक स्टेट’ भन्ने उग्रवादी संगठनले हालै अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनबारे भनेको छ– त्यहाँ तालिबान आफैंले जितेको होइन, अमेरिकाले त्यस मुलुकको नेतृत्व उसलाई सुम्पिदिएको हो।

‘इस्लामिक स्टेट’ (आईएस) ले आफ्नो साप्ताहिक पत्रिका ‘अल–नबा’मा यही अगस्ट १९ तारिख सम्पादकीय लेख्दै भनेको छ– यो शान्तिका लागि जित हो, इस्लामको होइन। यो सौदाबाजीको जित हो, जिहादको होइन।

आईएसले ‘नयाँ तालिबान’लाई ‘इस्लामको मुकुन्डो लगाएको’ त्यस्तो ‘बहुरूपी’को संज्ञा दिएको छ, जसलाई अमेरिकाले मुसलमानलाई अलमल्याउन र त्यस क्षेत्रबाट इस्लामिक स्टेटको उपस्थिति अन्त्य गर्न प्रयोग गरिरहेको टिप्पणी गरेको छ।

यसअघि इस्लामिक स्टेटका समर्थकले तालिबानले अमेरिकाको फोहोरी खेलमा साथ दिइरहेको आरोप लगाइरहेका थिए।

आफ्नो पछिल्लो बयानमा आईएसले आफूले जिहादको नयाँ चरणको तयारी गरिरहेको बताएको छ। तर आफ्नो आगामी लक्ष्य के हो भने कुरा स्पष्ट पारेको छैन। यद्यपि उसले यस्तो कुरा जुन सन्दर्भमा भनेको छ, त्यसले अफगानिस्तातर्फ संकेत गरिरहेको छ।

तालिबान–इस्लामिक स्टेट भिडन्त

अफगानिस्तानमा इस्लामिक स्टेटको उपस्थिति कमजोर बनाउन तालिबानको ठूलो भूमिका छ। विशेषगरी सन् २०१९ मा इस्लामिक स्टेटविरुद्ध तालिबान, अमेरिका र अफगान सुरक्षा बलले एकसाथ मोर्चा खोलेका थिए, जसले गर्दा पूर्वी अफगानिस्तानमा आईएसले आफ्नो बलियो किल्ला गुमाउनुपरेको थियो।

२०२० फेब्रुअरीमा तालिबानले अमेरिकासँग अफगानिस्तानको भूमि अन्य जिहादी समूहका लागि प्रयोग गर्न नदिने सम्झौता गर्यो। तर इस्लामिक स्टेटले त्यस्तो सम्झौता नमानिने र अफगानिस्तानमा आफ्नो जिहाद जारी राख्ने बताएको थियो।

आफ्नो पछिल्लो सम्पादकीयमा इस्लामिक स्टेटले सरिया कानुन लागू गर्छु भन्ने तालिबानको प्रतिबद्धताप्रति शंका व्यक्त गरेको छ।

दुईबीच युद्ध कहिले सुरु भयो?

६ वर्षअघि सन् २०१५ जनवरीमा ती दुई समूहले एकअर्काविरुद्ध युद्ध घोषणा गरेका थिए। त्यसपछि इस्लामिक स्टेटले ‘खुरासन शाखा’ गठन गर्यो। अफगानिस्तान, पाकिस्तान, इरान र मध्य एसियाका केही भाग इतिहासमा खुरासन नामले परिचित छन्। त्यो पहिलोपटक थियो– इराक र सिरियामा जरा गाडेको इस्लामिक स्टेटले अरबभन्दा बाहिरी क्षेत्रमा आफ्नो विस्तार घोषणा गरेको।

इस्लामिक स्टेट वा दायस पहिले यस्तो ठूलो उग्रवादी संगठन थियो, जसले तालिबानका तत्कालीन नेता मुल्ला मोहम्मद उमरको सत्तालाई चुनौती दिएको थियो। तालिबानका लडाकु मुल्लालाई ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’को ‘आमिर–उल–मोमिन’ (इमान्दार नेता) मानिन्थ्यो।

अल–कायदाका नेताहरूले तालिबानकहाँ शरण लिएका थिए र मुल्ला मोहम्मद उमरको सत्तालाई स्वीकार गरेका थिए। तर उनीहरू इस्लामिक स्टेटको खुलेर समर्थन गर्थे। आईएसको आरोप थियो– तालिबानले पाकिस्तानको आईएसआईको हितलाई प्रोत्साहन गरिरहेको छ।

इस्लामिक स्टेटविरुद्ध इस्लामिक इमिरेट

दुवै जिहादी समूहबीच कैयौं विषयमा मतभेद छन्। इस्लामिक स्टेट एउटा यस्तो उग्रवादी संगठन हो, जसले वैश्विक जिहादको कुरा गर्छ, जो कुनै देशको सीमामा सीमित छैनन्। आईएसको लक्ष्य सबै मुस्लिम मुलुक र क्षेत्रका लागि एक राजनीतिक एकाइ स्थापना गर्नु हो।

अर्कातर्फ तालिबानको जोड भने आफ्ना एजेन्डाको दायरा अफगानिस्तानसम्म मात्र हाे भन्नेमा छ। ‘अफगानिस्तानलाई विदेशी कब्जाबाट मुक्त गर्ने’ उसको घोषित लक्ष्य हो। तालिबानले लामो समयदेखि अफगानिस्तानबाट सबै देशका सेना फर्किनुपर्ने आवाज उठाइरहेको छ।

दुई संगठनबीच धार्मिक मुद्दामा पनि मतभेद छन्। तालिबान मूलतः सुन्नी इस्लामको हनफी शाखाका अनुयायी हुन्। धेरैजसो सुन्नी इस्लाम यस धारका मानिस हुन्। अर्कातर्फ इस्लामिक स्टेट सुन्नी इस्लामको वहाबी/सलफी शाखा मान्ने समुदायको संगठन हो। बीबीसीबाट

५ भाद्र २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको