साउन ६, बागलुङ । बागलुङको गलकोटमा घरेलु मदिरा खाँदा राेल्पाका ४ जना मजदुरको मृ’त्यु भएको छ । दुई जना बिरामी छन् ।
गलकोट नगरपालिका–७ मल्ममा सोमबार राति घरेलु मदिरा खाएका १४ जना मजदुर मध्ये ६ जना बिरामी परेका थिए । उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा चार जनाको मंगलबार बिहान साढे ४ बजे मृ त्यु भएको प्रहरीले जनाएको छ।
मृ त्यु हुनेमा रोल्पा सुनिल स्मृति गाउँपालिका– ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ति रहेकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।
१४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको बताइएकाे छ ।
ती मजदुर गलकोट नगरपालिका–७ को मल्मस्थित एक खानेपानी आयोजनामा काम गर्थे । मदिरा पिएर सुत्न हिँडेका उनीहरूको अवस्था गम्भीर भएपछि उपचारका लागि राति नै धौलागिरि अस्पताल ल्याइएको थियो ।
घटनाको बिषयमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ । होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए। रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ।
दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस