वैशाख ८, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए ।
नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् । उनले सञ्चार माध्यममा भेटवारे प्रतिक्रिया नदिने बताए ।
सर्वोच्चको फैसलापछि ब्युँतिएको नेकपा एमालेमा दुई पक्षबीच पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ।
अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षले समानान्तर कमिटी बनाइरहेको छ। यसअघि आजै नेपाल पक्ष नेताहरूले ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेस गरेका थिए।
नेता माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका हुन्।
केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन्।
सर्वोच्च अदालतका सह-प्रवक्ता देवेन्द्र ढकालका अनुसार उनीहरूको रिट आज पेश भए पनि दर्ता भइसकेको छैन।
प्रतिक्रिया दिनुहोस