मेरियट होटलमा ओली र माधवबीच ‘सरप्राइज वार्ता’

फाइल तस्बिर

बैशाख ८, काठमाडौं । झन्डै विभाजनको संघारमा पुगेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको छ ।

राजधानीको मेरियट होटलमा अहिले वार्ता जारी छ । वार्तामा पार्टीका नेता तथा अर्थमन्‍त्री विष्णु पौडेल पनि सहभागी छन् । पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ।

पौडेललगायतका दुवैतिरका केही युवा नेताहरुको विशेष पहलमा यो वार्ता संभव भएको हो । यसअघि युवा नेता योगेश भट्टराई बुधबार बालुवाटार पुगेर पार्टी एकता जोगाउन एमालेका अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीलाई आग्रह गरेका थिए ।

ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टी विवादले उत्कर्ष लिएको हो । मंगलबार बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले नेपालसहित २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई पार्टीले किन कारबाही नगर्ने भन्दै दुई दिने अल्टीमेटमसहित स्पष्टीकरण सोधेको थियो । माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकाल्दै संभावित कदम रोक्नका लागि अदालतमा समेत निवदेन दिएका छन् ।

सर्वोच्चको फागुन २३ को फैसलाअनुसार एमाले र माओवादी केन्द्र अलग अलग हैसियत कायम भएपछि एमालेभित्र फेरि आन्तरिक कलह चर्किएको हो । लामो संवादहिनता तोडिनु नै अर्थपूर्ण रहेको र यसले पार्टी एकताका पक्षमा सकारात्मक बल पुग्‍ने प्रतिक्रिया दुवैतर्फका नेताहरूले व्यक्त गरेका छन् । यसअघि चैत २ गते एमाले मुख्यालय धुम्बाराहीमा समूहिक वार्ता भएको थियो । तर त्यो वार्तापछि विवाद झन् चर्किएको थियो ।

८ बैशाख २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको