चैत्र ७, पोखरा । माननीय सांसद दिलमाया रोका ‘दिपा’ ताराखोला अर्गानिक कोसेली घरको साहुनी भएकी छिन । बागलुङको ताराखोलाकी सांसद दिपाले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुग्ने हेतुले ताराखोला अर्गानिक कोसेली घर सञ्चालनमा ल्याएकी हुन ।
पोखरा महानगरपालिका–१० बुद्धचोकमा नै माननीयले १० लाख रुपैयाँ लगानीमा उनको ‘ताराखोला अर्गानिक कोसेली घर’ सञ्चालन भएको छ ।
सानैदेखि आत्मनिर्भर बन्नुपर्छ भन्ने सोंच भएकी सांसद दीपाले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुग्ने हेतुले पसल सञ्चालनमा ल्याएकी छिन । उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिएकी छिन । विशेषगरी बागलुङ, पर्वत, मुस्ताङ, मनाङ, म्याग्दीमा उत्पादित वस्तु बिक्रीका लागि राखिएका छन् ।
उनको कोशेली घरमा बागलुङ ताराखोलकै घ्यूँ, तोरीको तेल, कोदोको पिठो, मकैको च्याख्ला, फापरको पिठो, उवाको सातु, जौको सातु, अलैंची, भाङ्गो, टिंमुर, मुलाको चाना, कोइरा, भुटेको मकै, विभिन्न प्रकारका दाल, आलु, च्याउ, बेसार, अनदीको चामल, चिउरा, मेथी छन् ।
मुस्ताङको जिम्मु, कास्कीको क्षेत्रदीप अन्नपूर्णको ट्राउट माछा, म्यादीको बदाम पनि वाईयुके मिनी मार्केटको स्टल नम्बर १९ मा लहरै सजाएर राखिएको छ ।
स्थानीय उत्पादनको बजारीकरण पनि हुने, आयआर्जन पनि हुने भएकाले आफूले शुरूआत गरेको कोसेली घरबाट उनि सन्तुष्ट छिन । आगामी दिनमा अझ विस्तार गर्दै जाने उनको योजना छ । पसलमा आफू नहुँदा भाइ, बहिनी र छोरीले सघाई रहेका छन् ।
सांसद दिलमाया संसद चल्दा प्रदेश सभामा भेटिन्छिन् भने पार्टीको कार्यक्रम, भेला, बैठक लगायत भेटघाटमा पनि समय दिईरहेकी छिन ।
तस्बिर/लोकान्तर
प्रतिक्रिया दिनुहोस