असार ५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ।
असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। भवनहरूमा रहेका केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको थियो।
शेर्पाका अनुसार, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको छ। बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ। यद्यपी थप मानवीय क्षति भने गरेको छैन।
हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।
‘क’ वर्गको यो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।
प्रतिक्रिया दिनुहोस