साउन ३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय १५ सांसद तटस्थ बस्ने भएका छन्।
एमाले विवाद मिलाउन गत जेठ २ गते गठित कार्यदलमा रहेका नेपाल पक्षीय सदस्यहरुसहित १५ सांसदले विश्वासको मतका क्रममा तटस्थ बस्ने निर्णय लिएका हुन्।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा केही बेरअघिसम्म भएको छलफलपछि एमाले स्थायी कमिटीका ४ सदस्यहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई तटस्थ बस्ने भएका हुन्।
त्यसैगरी सांसदहरु दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपड रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डेसहितले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन्।
यसैबीच कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले भने आजै सांसद पदबाटै राजीनामा दिइसकेका छन्। रावलले देउवाको विपक्षमा मतदान गर्ने बताएका थिए । त्यही विषयमा नेपाल समूहभित्र विवाद भएपछि रावलले सांसद पदबाटै राजिनामा दिएको घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस