देश छोडेर बिदेशमा बस्ने लाखौं लाख बौद्धिक, उर्जाशिल, गतिशील र क्षमतावान युवा साथीहरुमा न्यानो अभिबादन ।
हामी जो जहाँ जुन अबस्थामा भएपनि देशमा शान्ति, सुशासन, समृद्धिको लागि एकजुट भएर हाम्रा परिवर्तकारी आवाजहरुलाई बुलन्द पार्न धेरै ढिलो भइसकेको छ । अब उप्रान्त ढिलाई गर्नु भएन ।
हामीले देशको अवस्था र परिस्थितिलाई दोष लगाउदै उम्किन खोज्यौं भने तपाईं हाम्रा सन्तानले यो भन्दापनि दयनीय र गएगुज्रेको समाज देख्ने छन् । अरु देशको बिकास देखेर तपाइँ हामीलाई पक्कै जवाफदेहीता बनाइनेछ ।
नेपालको तथ्यांकमा करिब ४५% युवा हुदाहुदै पनि नेतृत्व थामी बसेकाले युवाशक्ति परिचालन गर्न सकेको देखिदैन । देश आज बिकास र समृद्धिको त कुरै नगरौं दिनानुदिन भ्रष्टाचार, राजनितीक अस्थिरता, दण्डहिनता र अराजक झुण्डहरुको भुमरीमा फस्दै गएको छ । आज देशको हरेक अंग अंगमा भ्रष्टाचारले जरा गाडेको छ ।
हजारौं युवाहरू देशको राजनिती, सामाजिक र आर्थिक अबस्थालाई दोष दिदै पलायन हुने क्रम तिब्र गतिमा अगाडि बढेको छ । विशेष गरि राष्ट्रनिर्माण र समृद्धिका आधार स्तम्भ बौद्धिक र शिपमुलक युवा बर्गले देशमा राजनिती अस्थिरताले कामको उचित बाताबरण नभएको भन्दै देश छिडिरहेको भयावह दृष्टान्त हाम्रो अगाडी छ । यदि यहि सिलसिला चलिरहने हो भने हामी कहाँ पुग्ने हो ? यसै भन्न सकिन्न ।
नेपालमा भएका युवाहरू पनि एकताबद्ध हुनुभन्दा पनि ब्याक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथी उठ्न सकेका छैनौं । हामी जिम्मेवारी पुर्बक हेरक क्षेत्रमा प्रस्तुत हुनुको साटाे अरुलाई दोषारोपण गर्न खोज्छौं । हामी मिहनेतको कमाइ भन्दापनि छलकपट गरेर चाडो धनी बन्न चाहान्छौँ ।
हामी युवाबर्ग नितिनिर्माण देखि राष्ट्रनिर्माणको बैकल्पिक र सुन्दर मार्ग चित्र कोर्नुपर्छ । राष्ट्र र जनताको जिबनमा परिबर्तन आउने केही गर्न अब ढिलाई गर्नु भएन । कसैले हामीलाई उचालेर नीतिनिर्माताको ठाउँमा पुर्याउदैन । अरुको पुच्छर समातेर होइन, हामी आफै अग्रसर हुँदै त्यो ठाउँमा पुग्नुपर्छ ।
धेरै परिबर्तन र रुपान्तरणमा अग्रमोर्चा समालेका युवा आज देशको बिकास र समृद्धिको लागि समाल्न किन तयार भएनौं ? अहिलेको आवस्यकता भनेको ब्यक्तिगत स्वार्थ र गुट भन्दा माथि उठेर शान्ति, बिकास, सुशासन र समृद्धिको लागि विश्वभर छरिएर रहेका युवाहरुले हातमा हात र काधमा काध जोडेर अगाडि सर्न आवस्यक छ । साच्चै भन्नेहो भने हामी युवा एक जुट भएर लाग्ने हो भने हामी सजिलै नेपालको मुहार फेर्न सक्छौँ । त्यतिखेर बल्ल वास्तविक रुपमा नयाँ नेपालको रुपरेखा कोरिनेछ ।
विश्वमा जतिपनि देशले आर्थिक, सामाजिक, बिकास र प्रबिधिको क्षेत्रमा चमत्कार गरेर आज विकसित देशको रुपमा चिनिएका छन् ती देशमा युवाको नेतुत्व र सक्रियतामा आज चमत्कार गर्न सफल भएका हुन् । स्रोत साधन र जनशक्ती हुँदाहुँदै पनि कुशल ब्यबस्थापनको कमी र राज्यको निरिहताका कारण युवा शक्ति खेर जादैछ ।
मरुभूमिलाई स्वर्ग बनाउने तागत र क्षमता भएको युवा शक्ति छरिएर भन्दापनि केन्द्रिकृत भएर यो देश र जनताको लागी हातमा हात र काधमा काध जोड्ने बेला आएको छ । हामी युवा सधै अरुको आदेश पालक र झोले हुनेमा मात्र सिमित भयौं । यदि यस्तै स्थिति भइरह्यो भने अबको ५० बर्ष पछिपनि हामी अहिलेको भन्दा झनै खराब अबस्थामा पुग्नेछौं ।
यदि हामी युवाले हाम्रै पालामा शान्ति, समृद्धि, बिकास, सुशासन, राजनीतिक स्थिरता, सामाजिक र आर्थिक उन्नति सहितको न्यायीक समाज देख्न चाहन्छौं भने एकचोटि ब्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर सुन्दर, शान्त र विशाल नेपाल निर्माणको साझा अभियानमा लागौं र हरेक क्षेत्रमा अग्रपंक्तिमा आएर अग्रगमनको लागि हस्तक्षेपकारी भुमिका खेल्न आवस्यक छ ।
लेखक नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्बको संयोजक हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस