नेपालमा कहाँ छ वास्तविक गणतन्त्र ?


अहिले सामाजिक सन्जालमा इम्युनिटी बढाउने खाले एउटा व्यक्तिलाई परिवर्तनको सम्पूर्ण श्रेय दिने, मुलुकको सम्पूर्ण परिवर्तनको भागिदार एउटै व्यक्ती हो भनेर भन्ने केही अतिभुतबादी मान्छेहरु देख्दा आश्चर्य लागेर आउँछ ।

अहिले मुलुकले बेहोर्नुपरेको नांगो वास्तविकताको खास कारण यस्ता व्यक्तिबादी वा ब्यक्तिपुजकहरुलाई त्यति जानकारी छैन वा जानकारी भएर पनि बुझ पचाएको हो ?

हिजो दस वर्ष मुलुक द्वन्दमा रुमल्लिदा माओवादीलाई गाँस, बास र सेल्टर दिने सबै दलका आस्थावान जनताको पुरै लगानीका बाबजुद मुलुकको शासन व्यवस्था बदलिएको हो । केही मानिसहरुलाई गणतन्त्रले जनतालाई के दियो भनेर प्रश्न गर्दा गाउँगाउँमा सिंहदरबार आइपुगेको बक्तब्य दिने गरेको सुन्छौँ ।

गाउँगाउँमा सिंहदरबार त आयो तर त्यसबापत जनताले के पाए ? के पाए सहिद परिवारले ? के पाए बेपत्ता परिवारले ? के पाए आन्दोलनमा पसिना बगाउनेहरुले ? के पाए करदाताहरुले ?

निरीह जनताका छोराछोरीको छातीमा गोलि ठोक्नु, प्रतिबन्धित दलको नाममा हत्या गर्नु, नागरिकले एम्बुलेन्स माग्दा ट्र्याक्टरमा बिरामी र लास बोक्न बाध्य बनाइदिने यस्ता कथित सिंहदरबार हामीलाई किन चाहियो ? दलाल नेताका कतिपय फ्यान वा समर्थकहरुलाई यो सायदै पच्ला ।

देशमा शासन व्यवस्थाको नाम मात्रै परिवर्तन भएको हो । नाम मात्रैको गणतन्त्र आएको हो । खासमा हिजोको नारायणहिटी आज खुमल्टार महल, बालकोटको र बुढानिलकण्ठ महलमा सरेको मात्रै हो । यदि गणतन्त्र आएको छ भने तिनै नबमहाजनहरुको दरबारमा मात्रै आएको छ ।सहिद परिवार ,घाइते परिवार, बेपत्ता परिवारको झुपडीमा न गणतन्त्र आइपुगेको छ, न सिंहदरबार नै आइपुगेको छ । गाउँगाउँको सिंहदरबारले काठमाडौ सिंहदरबार भित्रको भ्रष्टाचार गाउँ पुर्यायो ।

आजभोलि कतिपय दलका समर्थकहरुले ठुल्ठुलो परिवर्तनको अफवाह फैलाउने र कुनै विशेष नेताहरुको देवत्वकरण गरेको देख्दा खिस्स हास्न मन लाग्छ । यस्ता ब्यक्तीहरु बास्तबमा जनताका घोर दुश्मन भन्दा त्यति फरक नपर्ला ।

प्रचण्डको हिजो उनको टाउकाको मूल्य ५० लाख तोकिदा छिमेकी भारतका दिल्ली, चंडिगढ, मुम्बई र बैङ्लोर तिर लुकिलुकि हिंडेको भनिन्छ । पछि गिरिजाप्रसाद कोइरालासँग मुम्बईबाट गोवा पुगेर जनयुद्धमा पनि फोन घुमाउँथे र नेपालमा नेपाली जनताका छोराछोरी भिडाउथे ।

यदि प्रचण्ड जस्तै माओवादी छापामारहरु पनि भारतमा बसेर मुखले मात्रै जनयुद्ध जनयुद्ध भनेको भए जनयुद्ध त्यो उचाईमा चुलिने थिएन । जनताले लडे र प्रचण्डले लिडरशिपको जस लिन पाए । कुनै वेला अनाहकमा प्रचण्डलाई देवता बनाए । अहिले त्यसलाई राक्षसीकरण गरिदैछ र ओलीको जयजयकार गरिदैछ ।

केही दुई चार सय सन्जालमा व्यक्तिवादका जुँगे गाथा लेख्ने बाहेक सचेत देशभक्त जनताले व्यक्तिवादका समर्थनहरुका होहल्लालाई स्यालका हुइया बाहेक अरु केही मान्न सकिदैन ।

प्रदेश पिच्छे सरकार ल्याएको प्रचार गरयो । मुठ्ठीभर मान्छेलाई गाडी, महल र सेवासुविधा बाहेक जनताले के पायो ? तर कतिपयले न्वारान देखिको बल निकालेर सामाजिक संजालमा फोहर बनाएको पनि देख्छौँ । सायद ती कसैका साइवर सेना पनि थिए कि ?

मुलुकको परिवर्तनको लागि १९९७ सालका ४ सहिद,००७ सालका श्री ५ त्रिभुवन र तत्कालीन प्रजातान्त्रिक दलहरु, विपि, गणेशमान साथै ०४६ सालको जन आन्दोलन र ०५२ साल देखि ६१ सालसम्म मराइएका नेपाली जनताका छोराछोरीकै बलिदानको उपलब्धि हो भनेर हामीले बुझेका छौं।

आज मुलुकको परिवर्तन भएको शासन व्यवस्था जनतालाई पनि बदलिएर आएको थियो भने प्रचण्ड, ओली र देउवाहरुलाई आएको जस्तै सुखी गणतन्त्र जनतालाई दुखको पोको लिएर आउदैन थियो होला ।

बदलिएको व्यवस्थामा गर्व गर्न लायक के भयो ? कतिपयको तर्क छ, यो प्रचण्डले लडेर ल्याइदिएको गणतन्त्र हो । जसले गर्दा बोल्न पाएका छौ । जतिखेरसम्म प्रचण्ड ठिक थिए, जनताले समर्थन गरेकै थिए । आज उनले आन्दोलनलाई धोका दिए । आन्दोलनलाई ब्यबस्थापन गर्नमा चुके । जसको परिणामस्वरूप नेपाली क्रान्तिले धक्का ब्यहोर्नु परयो ।

प्रचण्डले मात्रै बोल्न सिकाए भन्ने कुरा ब्यक्तिबादको उपज हो । हिजो राजतन्त्रमा पनि जनताले बोल्न पाएका थिए । वीरेन्द्रलाई नै वीरे चोर देश छोड भन्दै नाराबाजी हुन्थ्यो । बलै त्यतिखेर कम हुन्थ्यो । निरंकुश राणा शासनले १९९७ अर्थात आजभन्दा ८१ वर्ष पहिला क्रुर यातना दिएर हत्या गर्दा बाघको डमरु हुँ भनेर राणालाई चेतावनी दिदै ढलेका ४ सहिदहरु हिजो बोल्न र लेख्न नपाउने अवस्थामा पनि बोलेका थिए । जनताहरुलाई बोल्न सिकाएका थिए । र, बोल्न आबहान गरेका थिए । उनिहरुले सिंचेको बलिदानको जगमा प्रजातन्त्र आयो । त्यही प्रजातन्त्रको जगमा प्रचण्डले प्रतिक्रियावादी राज्यसत्ताको बिरुद्धमा बोल्न पाए ।

मुलुकले हिजोका पुराना व्यवस्थाका जस्ता विकास नयाँ व्यवस्थामा के देख्न पायो नयाँ ? सडक, स्तम्भ, पाटीपौवा परिवर्तनका खम्बा हो जस्तो लाग्दैन । व्यवहारिक शिक्षा, नागरिकको स्वास्थ्य र मुलुकका युवा उर्जालाई मुलुकमै रोजगार र तीन करोड जनतालाई समान अधिकारको हकदार बनाउनु नै गणतन्त्रको साझा उपलब्धि हो ।

अहिले देशमा विभेद, बिरोध होहल्ला, प्रतिशोध, अपराध, अफवाह, उत्पिडन, भ्रष्टाचार, बेथिती र अराजकता हावी हुँदै गएको छ । हामीले जनताका पीडा पस्किदा परिवर्तनलाई गरेको खबरदारीलाई झोला बोक्नेहरुले होइन झोला बोकाइदिनेहरुले सुनोस भन्ने हेतुले नै हामीले व्यवस्थामा सेटिङ होइन कि संसदीय ब्यबस्थाको सिस्टम नै परिवर्तन गर्नुपर्छ भनिरहेका छौं ।

सेटिङ रोज्ने केही मुठ्ठिभरका कार्यकर्ताले सिस्टम खोज्ने जनतालाई अपमान गर्नु परिवर्तनको श्रेय एउटा व्यक्तिलाई दिने हो भने आफ्ना नेताहरुलाई श्री ६ महाराज बनाए पनि भयो त । तर हामी भन्छौं ती गद्दारहरुलाई किमार्थ युगपुरुष भन्न सक्दैनौं ।

४ जेष्ठ २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको