“ए ! मदन आश्रीत परलोकबाट नियाल्दै हुनुहुन्छ भने तपाईंहरुको अस्तित्व बेच्नेलाई श्राप दिनुस् ।
उच्च सम्मान सहित हार्दिक श्रद्धा सुमन ! आदरणीय ब्यक्तित्वद्वय स्व. जननेता मदन भण्डारी र जीबराज आश्रीतज्यु, आज २९ औं वर्ष लाग्यो कमरेड द्वयको जिन्दगी चुँडिएको तिथि ।
कमरेड मदन तपाईको जबजको मार्ग दर्शन अनुसार नै हामी एमाले हौँ र त्यही अस्तित्व र बिचार बोकेर अगाडि बढेका छौँ भन्ने त धेरै छन् । तर दु:खको विषय यो छकी जुन ब्यक्ती तपाईको सिद्धान्त मान्छौँ भनेर हिडेका छन तिनिहरु तपाईको अस्तित्व, योगदान र सम्मानलाई बेचेर आफ्नो ब्यक्तिगत स्वार्थका लागि खुबै अगाडि बढे ।
ती आज खरबौँका मालिक भए । आफ्नो ब्यक्तिगत आर्थिक स्थिती माथी उठाउनका लागि जुनसुकै काम गर्न पछि परेनन् चाहे गुण्डागर्दी र लूटपाट होस् । चाहे जनताका हितको लागि भन्दै जनमुखी नारा लगाएर आफुलाई रातारात करोडौंको मालिक हुने कुनै स्वार्थी काम होस, चाहे राष्ट्रहित र स्वाधिनताका लागि भन्दै छिमेकिलाई देश बेच्ने होस् ।
यसरी यहि बाटोमा लगेर तपाईको योगदानको नाम बेच्दै छन् । आदरणीय कमरेड तपाईले नेतृत्व गरेको नेकपा एमालेका नेता कार्यकर्ता हौँ भन्नेहरु आज हिजोका एमाले रहेनन् ।
सायद तपाईं भएको भए नेपाली कम्युनिस्ट आन्दोलनलाई निर्णयात्मक बिन्दुमा पुर्याउनुहुन्थ्यो होला भनेर महशुस गर्छु । तर तपाईलाई दासढुङ्गाबाट त्रीशुलीमा फाले देखी देशले खासै काँचुली फेरेको छैन ।
परिवर्तनको नाममा धेरै क्रान्तिहरु भए । धेरैका ज्यान गयो । धेरै अङ्गभङ्ग भए । कति घरबार बिहिन भए तर पनि अझसम्म ती क्रान्तिले आफ्नो लक्ष्य हासिल गर्न सक्या छैन । महत्वपूर्ण आन्दोलन मध्यको एक आन्दोलन हो २०५२ देखि ६२ सम्मको माओवादी जनयुद्ध र जनआन्दोलन । त्यो आन्दोलनले देशमा आमूल परिवर्तन त ल्यायो तर क्षणिक जस्तो भयो । परिवर्तनका लागि भन्दै राज्यको विरुद्ध लडेको एउटा आन्दोलनकारी पक्ष माओवादीले लगभग हारको संघारमा पुगिसकेको छ ।
तत्कालीन नेपाली कांग्रेस, एमाले लगायतका सात राजनीतिक दल सँगको सम्झौतापछि माओवादी सरकारमा आयो तर त्यसको केही महिना नबित्दै फेरि ती पुरानै निरंकुशताका मतियारहरुको कारणले गर्दा माओवादीले आफ्ना शतप्रतिशत एजेन्डाहरुलाई कार्यान्वन गर्न सकेन । यसलाई बिडम्बना भन्नूपर्छ ।
आज देश माओबादी एजेन्डा, बिचार र रोड म्यापमा त हिडेको छ तर त्यसको नेतृत्व तपाईको मार्ग दर्शक हुँ भन्नेहरुले गरिरहेका छन् कमरेड । म जस्ता साधारण नागरिकलाई लागिरहेको छ कि एजेन्डा अर्काको र कार्यान्वयन गणतन्त्रका बिरुद्ध बिष ओकल्ने तपाइँकै आसेपासेहरुले गरिराखेका छन् । यहि कारण कुनै न कुनै तालमेल मिलेकै छैन ।
अब त देश फेरि एउटा निरंकुशताको हातमा गैसकेको भान जनता र देशभक्त नागरिकहरुले गर्न थालीसके । जबजको क्याडर हुँ भन्नेहरु दिन दहाडै सांसद अपहरण देखि त्यसको बेचबिचनमा लागिसके । संसदमा जे आफ्नो मन लाग्यो त्यही मनोमानी गरिरहेका छन् । न नौलो जनबादको एजेन्डा बचेको छ, न तपाईको जबजको एजेन्डा नै अस्तित्वमा छ ।सबै बेचेर खाइसके ।
यदि त्यो पार्टीमा कोहि तपाईको एजेन्डा र अस्तित्वलाई मार्गदर्शन बनाएर जान्थ्यो भने किन आज २९ वर्ष बिति सक्दा पनि तपाईको हत्याको डिजाइनरको पत्ता लगाउन सकिएन ? किन खोजी कार्य नै हुन सकेन ? म प्रश्न गर्न चाहन्छु तपाईको अस्तित्व बेचेर खाने नक्कली अनुयायीहरुलाई । अझ भन्नूपर्दा मलाई दु:ख त यस विषयमा लाग्छ कि तपाईकी आफ्नै धर्मपत्नी बिद्या भण्डारी जो यो देशको महामहिम पदमा हुनुहुन्छ । तपाईंको सहयोद्दा ओली प्रधानमन्त्री पदमा डबल कार्यकाल गुजारिसके ।मात्र तपाईको स्मृती दिवसको दिन तपाईको कुरा गर्नु हुन्छ तर अरु दिन तपाईको न्यायको लागि जनता सामु आवाज उठाएको देखेको छैन । त्यसैले मलाई अत्यधिक दु:ख लाग्छ ।
बिगतमा तपाईले देख्नु भएकै हो र सामना गर्नुभएकै हो महाकाली सम्झौता । तपाईको त्यो बोलेको अडियो सुन्छु र लाग्छ तपाईं आज जिबित हुनुहुन्थ्यो भने महाकाली सन्धी लगायत देशमा हुने अनेकौं रास्ट्र र जनताका हित बिपरित सन्धी र सम्झौताहरुको खुलेर बिरोध गर्नुहुन्थ्यो होला । हिजो दलालहरुले महाकाली बेचेर आज नदि र त्यो सिमा हाम्रो छैन । उल्टै महाकाली वारि ५ किमि यता नेपाली सिमालाई पुर्याएका छन् । तिनिहरु बिरुद्ध बोल्नेहरु सहिद हुनुपरेको छ । म महाकालीबासी यो खबर तपाईंसामु परलोकसम्म कसरी पुर्याउँ ?
अझ फेरि तिनै महाकाली बेच्ने निरंकुश दलालहरु अहिले अमेरिकासँग सिङ्गो देशलाई बेच्न लालायित छन् । आदरणिय कमरेड तपाईंको मृत आत्माले यिनिहरुको यो घिनलाग्दो काम परलोकबाट देख्दै हुनुहुन्छ भने धिक्कार्नुहोस् । धिक्कार्नुहोस् यी कथित नेता नामका दलालहरुलाई ।
क्षमा चाहन्छु, धेरै लेख्न पुगेछु । बुझिदिनुस कि यो तपाईको अभाबको एउटा पीडा मात्रै हो । अन्तमा दुबै आदरणीय कमरेडहरुमा श्रद्धाञ्जलीका गुच्छाहरु अर्पण गर्दछु ।
उहि डबलसिंह धामी
महाकालीबाट
प्रतिक्रिया दिनुहोस