२०८० सालसम्म सबै कक्षामा नयाँ पाठ्यक्रम, शिक्षकलाई तालिम दिइँदै

फाइल तस्बिर

माघ ५, काठमाडौँ । आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ ।

विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप ४ वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए ।

चालू शैक्षिक सत्रमा १ र ११ कक्षामा नयाँ पाठ्यक्रम लागू भइसकेको छ । केन्द्रका अनुसार २०७८ सालको शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ तथा २०७९ सालमा ४, ७ र ९ कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनेछ ।

२०८० सालमा ५, ८ र १० कक्षामा नयाँ पाठ्यक्रम लागू गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्ने महानिर्देशक दाहालले जानकारी दिए । अदालतले नयाँ पाठ्यक्रम लागू गर्न कानूनी रूपमा बाटो खोलिदिएकाले समस्या नहुने र यसको कार्यान्वयनमा सरकार अगाडि बढ्ने उनले जानकारी दिए ।

११ कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट परेपछि झण्डै ३ महिना अन्योल देखिएको थियो । सर्वोच्च अदालतले पुस २८ गते नयाँ पाठ्यक्रम लागू गर्न सरकारलाई बाटो खोलिदिएको छ ।

केन्द्रका महानिर्देशक दाहालले एकैचोटि सबै कक्षामा पाठ्यक्रम कार्यान्वयन गर्न समस्या भएका कारण चरणबद्ध रूपमा यसलाई अगाडि बढाइएको जानकारी दिए । एकै पटक लागू गर्दा पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक प्रकाशन लगायतका काम गर्न समस्या हुने भएकाले चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको हो । व्यवस्थापकीय हिसाबले कार्यान्वयन गर्न पनि सहज हुने महानिर्देशक दाहालले बताए ।

यसैबीच केन्द्रले नयाँ पाठ्यक्रम लागू भएको ११ कक्षाका शिक्षकलाई तालिम दिने भएको छ । ३ वटा अनिवार्य विषय अध्यापन गर्ने शिक्षकलाई तालिम दिने गरी कार्ययोजना बनाइएको छ । यसपटकबाट ११ कक्षामा नेपाली, अंग्रेजी तथा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा गरी ३ विषयलाई अनिवार्य गरेको छ । यस पटकबाट सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयका रूपमा थप गरिएको छ । यो विषय नेपाली माध्यममै पठनपाठन गराउने प्रावधान बनाइएको छ ।

नेपाली समाज, सामाजिक परिवेश तथा जीवनोपयोगी शिक्षाबारे पाठ्यपुस्तकमा समावेश गरिएको छ । यो अवस्थामा ११ कक्षाका शिक्षकलाई अभिमुखीकरण गर्नुपर्ने आवश्यकता महसूस गरिएको छ ।

पहिलो चरणमा अनिवार्य विषयका शिक्षकलाई तालिम दिएपछि ऐच्छिक विषयका शिक्षकलाई तालिम दिने योजना छ । शिक्षकलाई नयाँ पाठ्यक्रममा मूल्यांकन, पाठ्यक्रम संरचना लगायतका विषयमा जानकारी गराउने योजना छ ।

शिक्षकलाई स्थानीय तह वा प्रदेश स्तरमा रहेका तालिम केन्द्रमध्ये कुन मोडलबाट तालिम सञ्चालन गर्ने भन्ने कुराको टुंगो लाग्न बाँकी छ । विभागले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कायमै रहेको अवस्थामा केही महिना पहिले ११ कक्षाका शिक्षकलाई भर्चुअल माध्यमबाट तालिम कार्यक्रम गर्ने योजना बनाएको थियो । तर नयाँ पाठ्यक्रमका बारेमा कानूनी विवाद उठेपछि अभिमुखीकरण रोकिएको जनाएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

 

५ माघ २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको