बाढीमा बगेका मेलम्चीका सडक धमाधम पुनर्निर्माण हुँदै

फाइल तस्बीर

असोज १ सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीबाट स्थानीय शाखा रुटमा यातायातका साधन सञ्चालन हुन थालेका छन्।

मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाउँपालिका मेलम्ची नगर र इन्द्रावती गाउँपालिकालगायत विभिन्न स्थानका सडकमा बस सञ्चालन सुरु भएको हो।

गत साउन १६ गते आएको बाढीले क्षति पु¥याएको बाहुनेपाटी पुल बिहीबारदेखि सञ्चालनमा आएको मेलम्चीका इञ्जीनियर जीतबहादुर कार्कीले जानकारी दिए। त्यस्तै मेलम्ची पारी झोलुङ्गेपुलबाट पाँचपोखरीको माथिल्लो भेग भोताङ, मानेखर्क, गुन्सा, धाप, तिपेनीलगायत स्थानमा यातायात सञ्चालनमा आएको पाँचपोखरी थाङ्पालका अध्यक्ष टासी लामाले जानकारी दिए।

नेपालीहरूको महान् पर्व दशैँ नजिकिएसँगै व्यापारी केन्द्र र बजार क्षेत्रमा चहलपहल बढेको छ । त्यस्तै हेलम्बु गाउँपालिकामा पनि अवरुद्ध सडक सञ्चालनमा आएको छ।

बिहीबारदेखि हेलम्बुको इचोक, ग्रेटटे«ल, तार्तुङ, कुटुङसाङलगायत ठाउँमा यातायातका साधन सञ्चालनमा आएका हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

‘मेलम्ची नगरपालिकाको न्वारखोलामा पहिराले अवरुद्ध सडक खुलाएदेखि हेलम्बुका विभिन्न ठाउँमा यातायात सञ्चालन गर्न सकिने छ, रातो पुल भएको स्थानमा पनि पुल निमार्णका लागि बजेट छुट्टिसकेकाले अब छिट्टै मेलम्ची तिम्बु पनि गाडीमा जान पाइन्छ, त्यसका लागि गृहकार्य सुरु गरेका छौँ,’ अध्यक्ष शेर्पाले भने।

त्यस्तै पाँचपोखरीका लागि पनि मेलम्ची क्षेत्रभित्र पर्ने सल्लेखोला नजिकै बाढीले कटान गरेको सडक निर्माण गरेमा काठमाडौँबाट सिधै भोताङ जान सकिने पाँचपोखरी थाङ्पालका सल्लाहकार विजय पौडेलले बताए।

शुक्रबारदेखि बाहुनेपाटी पुल सञ्चालनमा आएको छ। सल्लेखोला छेउ र न्वारखोला छेउको बाटो खुलाउन पनि काम सुरु भएको मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए। अवरुद्ध सडक खुलाउन काम भइरहेको र कतिपय ठाउँमा काम सुरु भइसकेको जनाइएको छ। कतिपय ठाउँमा प्राविधिक अध्ययन भइरहेको छ। अब केही दिनमै अवरुद्ध सबै ठाउँको सडक सञ्चालनमा आउने धितालले बताए।

गत असार १ गते र त्यसपछि आएको बाढीका कारण मेलम्ची क्षेत्रका सडक सञ्जालमा क्षति पुग्दा मानिसलाई आवतजावतमा समस्या हुँदै आएको छ। चाडपर्व नजिकिएसँगै मोटरबाटो निमार्णको कामले तीव्रता पाउँदा र अवरुद्ध सडक सञ्चालनका लागि काम भइरहेको भन्ने खबरले स्थानीयवासी खुशी हुन थालेका छन्।

दुई पुल निर्माण हुँदै

हेलम्बु गाउँपालिकाको चनौटेमा बेलीब्रिज जडानका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले रातोपुल बगाएको ठाउँमा बेलीब्रिज बन्ने भएको हो।

गृह मन्त्रालयलाई पत्र लेख्दै अर्थ मन्त्रालयले अनुमानित लागत ९० लाख ५३ हजारको सीमाभित्र रहि सडक विभागको विनियोजित बजेट भित्रैबाट खर्च गर्न र बजेट अपुग भएमा थप बजेट व्यवस्थापनका लागि लेखी पठाउन भनेको छ।

अर्थले गृह मन्त्रालयअन्तर्गतको विपद् अध्ययन, जोखिम तथा पुनर्लाभ शाखालाई पत्र लेखेको हो । बाढीले रातोपुल बगाएपछि त्यहाँका नागरिक निकै कष्टकर जीवन बिताइरहेका छन्। रासस

१ आश्विन २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको