केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको निर्देशन


साउन २, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविनकै क्रममा रहेका बेला घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र १ का सभापति बालकृष्ण बस्नेत एवं घटनामा संलग्न भएकाहरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो ।

बस्नेत तथा आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरु उपर २४ घण्टाभित्र स्पष्टीकरण पत्र काटेर ३ दिन भित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि निर्देशन दिएको कांग्रेसले जनाएको छ । पदाधिकारी बैठकले कारबाहीको प्रक्रिया शुरु गर्न अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेलाई जिम्मा दिने निर्णय गरेको छ ।

क्रियाशील सदस्यताको छानविन स्थलमा पुगेर पार्टीको काम गरिरहेका नेताहरुमाथि हुने कुनै पनि प्रकारको आक्रमण अनुशासनविपरीत रहेको कांग्रेसको निष्कर्ष छ । घिमिरेमाथि शुक्रबार सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्नु छ भन्दै आएका नेता मोहनबहादुर बस्नेत समूहका नेताहरुले कुटपिट गरेका थिए ।

२ श्रावण २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको