असार ३, काठमाडौँ । जातका कारण काठमाडौंको बबरमहलमा कोठा नपाएकी २४ वर्षीया रूपा सुनारले घरबेटीविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्।
उनी आफूमाथि विभेद भएको भन्दै प्रधान थरकी घरबेटीविरूद्ध जाहेरी दिन बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेकी थिइन्। प्रहरीले साँझमात्रै जाहेरी दर्ता गरेको रूपाले जानकारी दिएकी छन्।
गत मंगलबार दिउँसो रूपा आफ्ना तीन जना साथीहरूसँग बबरमहलमा कोठा खोज्न गएकी थिइन्। घरबेटीले सुरूमा कोठा दिने कुरा गरे पनि पछि थर थाहा पाएपछि कोठा नदिने बताएकी थिइन्। सो कुरा उनले आफ्नो फेसबुकमार्फत् राखेकी थिइन्।
रूपा इमेज टेलिभिजनमा उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्। काठमाडौँको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् । ‘सुनार’ अर्थात् दलित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्वीकार गरेकी हुन् ।
घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो। तर उनले केही नभएजस्तो गरिन् । उनलाई आफू कामी भएकै कारण त्यो घरमा नअटाएको भन्ने लागेको छ । आफूलाई ती घरबेटीले अर्को दर्जाको व्यवहार गरिएको महसुस भएको बताइन् । रूपाले थरकै कारण विभेद भोगेको यो पहिलो पटक भने होइन ।
ती घरबेटीले तिमीहरूलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातीय विभेद गरेको पाइएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर ११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वीकार गरेकी थिइन ।
सञ्चारकर्मी सुनारले आफू माथि भएको विभेदको विरुद्ध कानुनी उपचार खोजेकी छिन । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा आज अधिकारकर्मी , पत्रकार र कानुन व्यावसायिक बाक्लो उपस्थित र छलफल पछि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
हेर्नुस उजुरी पत्र
प्रतिक्रिया दिनुहोस