प्रकृति पुजक धर्म पनि नेपालको एक धर्म हो । राज्यले सम्बोधन गर्नु पर्छ


हप्ता दिन अघि ‘मैले ‘हामी मगर हरु प्रकृति पुजक हौँ, हिन्दु वा बुद्धिष्ट होईनौँ’ भन्ने शिर्षकमा आफ्नो बिचार व्यक्त गरेको थिएँ । त्यसमा थुप्रै क्रिया प्रतिक्रियाहरु भए, कतिपयले त अभद्र शब्दले पनि प्रहार गरेको देखियो खासगरी बुद्ध धर्म अनुसरण गरेका केही मगर दाजुभाईहरु बाट । तर सबैलाई एक एक गरेर जवाफ दिन पहिलो कुरा त समय छैन, दोस्रो सबै व्यक्ति व्यक्तिमा सवालजवाफ गर्न, डिबेट गर्न सम्भव पनि हुँदैन । त्यसकारण एकमुस्टमा ति प्रतिक्रियाहरुलाई सम्बोधन गर्दै यो लेख लेख्दै छु ।

यदि तपाईहरु पुरा लेख पढ्नु भएको छ भने अघिल्लो लेखमा पनि प्रष्ट सँग लेखेको छु जहाँ मैले कुनै धर्मलाई आक्षेप लगाएको छैन । र सिपालु पल्टेर मगरहरुले यो धर्म मान्नु पर्छ र यो धर्म मान्नु हुँदैन भनेर पनि भनेको छैन । जसरी तपाईहरु धेरैले तोकेरै मगरहरुको धर्म बुद्ध हो वा हिन्दु हो भनेर दाबिका साथ भनिरहनु भएको छ । म सबै त भन्दिनँ तर बुद्ध धर्ममा गईसक्नु भएका केही मगरहरुको यस्तै शाब्दिक हर्कतहरु असभ्य अनि अस्वभाविक छन् । यसमा दुईमत छैन ।
तपाईहरुले खुलम्खुल्ला ‘बौद्ध मगर समाज’ भनेर बिभिन्न ठाउँमा संस्थाहरु खोल्दै हिड्दा हामीले कुनै आपत्ति जनायौँ ? तपाईँहरु कहाँ जानु हुन्छ, के के धर्म मान्नु हुन्छ मान्नुस् न, हामी कहिले बाधक बन्यौँ र ? अनि आज प्रकृति पुजक मगर समाज को एउटा टुकुडी स्थापना हुँदा तपाईहरुको टाउको किन चिलाउँछ त ? बरु हिजो हाम्रा गुदीहरुमा चेतनाको अभाव भएको बखत, अर्थात हामी सुतिरहेको बखत नेपाल मगर संघलाई आफ्नो कब्जामा राखेर बढी भन्दा बढी मगरहरुको चाहाना बिपरित मगरहरुको धर्म बुद्ध हो भनेर संस्थात रुपमा निर्णय गराउँनेहरु तपाईहरु हैन ? त्यसरी आफ्नै मगर जाति भित्रको धार्मिक बिबिधतालाई मुल्यांकन र कदर गर्न नसक्ने, अनि त्यसले भोली मगर जाति भित्र ल्याउँन सक्ने सम्भावित विवादको परिकल्पना र नजरअन्दाज नगरेर धर्ममा पनि निरङ्कुशता लाड्नेहरु को ? अरुको स्वतन्त्रतालाई बन्धक बनाउँन दुस्साहस गर्ने तपाईहरु हैन ? अनि यसरी कालान्तर बाट छुटेर बौद्ध बनेका आफ्नै मगरहरुले आज आफ्नै मगरको पुर्खौली आस्था माथी धावा बल्न शुरु गरिन्छ भने हामीले हिजो पृथ्वीनारायण शाहले, वा यि खस आर्यहरुले हाम्रो धर्म, भाषा र ईतिहाँस मेटाईदिए भनेर कुर्लन सुहाउँछ ? तिनै खस आर्य शासकहरुको आगमन पश्चात बिछट्टिएर हिन्दु वा बुद्ध बनेका तपाई मगरहरुलाई नै त आज आफ्नो खास ईतिहासको माया लाग्दैन अनि ति खस आर्यहरुलाई माया लाग्छ ? प्रक्रान्तरमा डालीबाट पलाएर आफुलाई बुद्ध भन्नु हुने तपाई मगरहरुलाई त यसको माया छैन अनि उनिहलाई हुन्छ ? जस्को छुट्टै जात, धर्म, भाषा, संस्कार छ उनिहरु शासक बने पछी हामिलाई निमिट्यान्न पार्नु कुन अनौठोको कुरा भो र ?

खैर आज मगर संघको त्यो कठित निर्णय निकम्मा भएका छन् । सम्भव त यसरी आफुले मान्यो भन्दैमा सबै मगरहरुको धर्म बुद्ध हो भनिदिने वा हिन्दु हो भनिदिने र वाहियात भ्रम फैलाउँदै हिड्ने अनि प्रकृति पुजकहरु यस्ता हुन र उस्ता हुन भन्दै खिल्लि उदाउँने, उनिहरु माथी सके सम्म थिचोमिचो गर्ने मगर जाति भित्रैका घटिया प्रवृति तथा पात्रहरुको बिरुद्धमा प्रतिकार गर्दै अस्तिको लेख लेखेको हुँ म । र अब आफ्नो पुर्खाको माया लाग्ने, उहाँहरुले बसालेको प्रकृति पुजक धर्म संस्कारलाई शिरोपर गर्ने र बचाउँन चाहाने हरेक मगरहरु यस्ता अवाफाह फैलाउँदै आफ्नै मगर वंश, रगत र ईतिहासलाई कुल्चँदै डोमेनेट गर्ने, मजाक गर्ने, खिल्लि गरेर आनन्द लिने व्यक्ति र प्रवृतिहरुको प्रतिवाद गर्नु पर्छ । यो जरुरी छ ।

आज संसार धेरै अगाडी आईसकेको छ । कोही लाता र गुज्रक छैनौँ यहाँ, जस्ले राम्रो र नराम्रो पनि छुट्याउँन नसकोस् । हामीलाई राम्रो सँग थाहा छ अरु धर्महरुमा जस्तै प्रकृति पुजकमा पनि थुप्रै अन्धविश्वासहरु छन् । तै पनि केवल आत्मासन्टुष्टी पाउँन र पुर्खाको ईतिहास र सभ्यतालाई माटोमा मिल्न नदिन यो धर्मकर्मलाई निरन्तरता दिनु पर्छ भन्ने हाम्रो चाहाना हो । किन कि आज सम्म हामी धर्मको नाममा त्यही गर्दै आयौँ जो पुर्खाहरुले गर्दै आए । हामी कहिल्यै गुम्बामा पुजा गरेनौँ, मन्दिरमा पुजा गरेनौँ, चर्च र मस्जिद त झन कल्पना बाहिरका कुरा भए । हामिले गर्यौँ त केवल धामी, झाँक्री र जैसीको नाममा निर्मित मठमा पुजा गर्यौँ, पित्रघरको पित्रथानमा पुजा गर्यौँ, ढुङ्गेझाक्री र मुढेझाँक्रीका थानमा पुजा गर्यौँ, हिमाल र लेकको ताल झर्नाहरुमा अबस्थित् ब्रहा र सिमिभुमीलाई पुजा गर्यौँ । दुबो, पाटी, ध्वजा अक्षेता उडाउँदा तिनै देउपित्रलाई प्राथना गर्यौँ, जन्म कर्म कुण्डी, कुल पुजा जे सुकै भन्नुस् हामी मगर जैसीको उपस्थितिमा सम्पन्न गर्दै आयौँ, आज पर्यन्त न कुनै लामालाई गुहार्यौँ न वाहुनलाई गुहार्यौँ !

अनि यसरी आफ्नै आस्था र सभ्यतामा रमाउँदै आएका हामी कसरी बुद्धिष्ट ? कसरी हिन्दु ? हामी जस्ता लाखौँ मगरहरुलाई वास्ता नगरेर जवरजस्ति मगरहरुको धर्म बुद्ध हो भन्दै प्रचार गर्न मिल्छ ? अब उप्रान्त कसैले पनि यस्ता वाहियात तर्क र बिचार प्रभाह् नगरुन् भन्ने हाम्रो शन्देस छ । बरु दाबिका साथ भन्छु अहिले सबै मगरहरुको धर्म प्रकृति पुजक धर्म नहुन सक्छ, तर सारा मगरहरुको पुर्ख्यौली धर्म त यही प्रकृति पुजक नै हो । हामी सबै यही बाट जन्मेका हौँ, उठेका हौँ, हाम्रो मुल जड यही हो । त्यसकारण हामीलाई त ठुलो गर्व छ यसमा कि बितेका अघिल्ला पुस्ताहरुले यो धार्मिक आस्था, यो मगर संस्कार बचाएरै हाम्रो हात सम्म ल्याईपुर्याईदिनु भयो । ठम्याईदिनु भयो । र हामी त्यसैमा निरन्तर छौँ । म उहाँ पुर्खाहरुलाई कोटी कोटी नमन गर्दछु ।

अब यति भन्दै गर्दा म धर्म ग्रण्थका जिज्ञासा बारे पनि मैले बुझे सम्मको स्पष्टता दिन चाहान्छु । धेरैले प्रश्न गर्नु हुन्छ प्रकृति धर्मको दर्शन के हो ? म साथीहरुलाई भन्न चाहान्छु, हामीले धर्म धर्ममा दर्शन खोज्ने भन्दा पहिला दर्शन भनेको के हो ? यो बुझ्न जरुरी छ । दर्शन भनेको जीवन र जगतलाई हेर्ने, वुझ्ने र व्याख्या गर्ने कुनै खास मानिस द्वारा प्रतिपादित भएको एक दृष्टिकोण हो, साध्य हो । जस्लाई अंग्रेजी बोल्नेहरुले फिलोसोफी ( Philosophy) भन्ने गरेको सुन्छु । जस्को प्रथम प्रयोगकर्ता पाईथागोरस् हो भनिन्छ । र दर्शनको पनि दुई सिद्धान्त छन् ! (१)आदर्शवादी (आध्यात्मिक) दर्शन, (२)भौतिकवादी दर्शन । म यहाँ दर्शनका अन्य खण्ड र परिभाषातिर जान चाहान्न, बस यति भन्छु आदर्शवादिहरुले ईश्वर प्रति आस्था राख्छन्, भगवान छन्, दैवि शक्ति छ भन्ने विश्वास् गर्छन् । भने भौतिकवादीहरुले ईश्वर र भगवान भन्ने कल्पना मात्रै हो । दुनियामा कुनै अलौकिक वा दैविशक्ति छैन भन्ने कुरामा विश्वास गर्छन् ।

अब तपाईहरु कसरी बुझ्नुस् भने कुनै पनि धर्मले ईश्वर छ भन्ने विश्वास राख्छ भने त्यसको धार्मिक दर्शन के हुन सक्छ ? आदर्शवादी दर्शन होईन र ? प्रकृति पुजकहरुले पनि अलौकिक शक्ति छ भन्छन्, देउपित्र, सिमिभुमी प्रति आस्था राख्छन् पुजा गर्छन् । अनि आदर्शबादी दर्शनमा चलेको भएन त ? मलाई शंका छ तपाईहरुको जिज्ञासा बुद्धिष्टको त्रिपिटक, हिन्दुको वेद, ख्रिष्टियनको बाईबल र मुस्लिमको कुरान् भए जस्तै प्रकृति पुजकको के हो त ? भन्ने पनि हुन सक्छ । तर यि धर्मग्रण्थ पुस्तक हुन, दर्शन हैनन् । यद्धपी प्रकृति पुजकको यस्तै ठोस रुपमा धर्मग्रन्थको किताब हाल सम्म आधिकारिक रुपमा नभए पनि, हाम्रा मगर जैसीहरुले झोलामा कयौँ थान पुराना किताबहरु बोकेका हुन्छन् । छालाको गाता भएका ति किताबमा हामीले नबुझिने जैसी अक्षेरहरुले लेखिएको हुन्छ ! त्यो जैसी बनेकाहरुले वा जैसी अक्षेर पढेकाहरुले मात्रै पढ्न सक्छन् । जुन किताबलाई मगर भाषामा ‘पोस्तक’ भनिन्छ । आज म सोँच्ने गर्छु कि हाम्रो धर्म ग्रण्थ त्यही नै हुन सक्छ । हाम्रो शैक्षिक लिपि हराएको (लोपभएको) हुँदा स्वभाविकले अहिलेको खसान भाषामा हाम्रो धर्म सम्बन्धका कुनै किताब छैनन् । तर मौखिक रुपमा पुराना अग्रजहरु सँग सोध्यौँ भने हाम्रो हरेक धार्मिक काम काजमा प्रयोग हुने, झाँक्रिहरुका कथाहरु, जैसीका पोस्तकहरु नै प्रकृति पुजक धार्मिक ज्ञानका सुत्राधार हुन् । जहाँ संसार उत्पति देखि मानव विकास सम्मका सबै ईतिहास भेटिन्छन् ।

मैले माथी पनि भनिसकेको छु , हो यस प्रकृति पुजक धर्ममा आस्थाको पर्खाल अलि बढी नै छ अर्थात अन्धविश्वास् धेरै छन् । तर वास्तवमा धर्महरु सबै अन्धविश्वास बाटै त चलेका छन् । पहिलो कुरा त भगवान छ भनेर विश्वास गर्नु नै ठुलो अन्धविश्वास हैन र ? कुन चै धर्मले आज सम्म आफ्ना भक्तहरुलाई भगवानको अनुहार देखाईदिएको छ त ? के तपाईले कहिल्य देख्नु भएको छ परमेश्वर ? अल्लाह् देख्नु भएको छ ? र पनि त्यो छ भनेर संसारका अरबौँ मानिसहरु धर्ममा विश्वास गरेका छन् । यो त सबै त्यै अन्धविश्वास कै पराकाष्ठा त हो । जो आदर्शवादी दर्शन भित्र पर्दछन् । साथीहरुले भन्ने गर्छन् प्रकृति पुजक भनेको त एउटा संस्कार हो यो धर्म होईन । तर म उहाँहरुलाई अलि गम्भिर भएर सोँचेर मात्रै बोल्न अनुरोध गर्छु । किन कि धर्म र संस्कार यि छुट्टिनै नसक्ने दुई सिक्का हुन् परिपुरक हुन् । अर्थात हाम्रो धर्मले नै हाम्रो संस्कारलाई नियन्त्रण गरेको हुन्छ । अझ भनौँ धर्मबाट नै संस्कार सञ्चालित भएको हुन्छ । र संस्कारले धर्मको पहिचान र परिचय व्यक्त गर्ने गर्दछ ! अनि धर्म छुट्टै र संस्कार छुट्टै यस्तो पनि हुन्छ कहीँ ? हामीले पुज्ने देउपित्र, ब्रहाहरु के भगवान होईनन् र ? हिन्दुको मन्दिरमा भगवान हुने, बुद्धको गुम्बामा भगवान हुने अनि प्रकृति पुजकको पित्रघर र थानहरुमा भगवान नहुने भनेर कहाँ लेखिएको छ ? भगवान त अलौकिक छन् जहाँ पनि प्रकट हुन्छन् भनेर विश्वास् गर्नु नै धर्म हैन र ? त्यसलाई मान्ने तरिका पो धर्मनुसार फरक छ । जहाँ भगवान पनि छ, त्यसलाई मान्ने र पुज्ने संस्कार पनि छ अनि त्यो धर्म हैन कसरी भयो ? अनाहकमा हाम्रो आस्थालाई धर्म नै होईन भन्दिने को हो तपाईहरु ? भगवान पनि यहाँ छ यहाँ छैन भनेर ठोकुवा गर्दै हिड्ने अधिकार कस्ले दियो तपाई केही मगर बुद्धिष्टहरुलाई ?

अन्तमा म दोर्याउँन चाहान्छु, कि हामीले कुनै पनि धर्मको बिरोध गर्दैनौँ । तर हामीले मान्दै आएको आस्था माथी पनि कसैले यस्तो र उस्तो भनेर प्रहार नगरुन् भन्ने चाहान्छौँ । बरु सबै प्रकृति पुजक धर्मालम्बिहरु एक भएर यस धर्मलाई राज्यमा पुनस्थापित गर्ने तिर लाग्नु पर्छ अब । यो प्रकृति पुजक पनि नेपालको अरु धर्महरु जस्तै एक धर्म हो । जो मगर जाति र मगर समुदायले मान्ने गरेका छन् भन्ने कानुनी रुपमै संस्थागत गर्न तिर लाग्नु पर्छ । हिजो सबै मगरहरु प्रकृतिपुजक पृष्ठभूमि बाटै आएको भए पनि समयको प्रक्रान्तरले आज हामी बिच धार्मिक बिबिधता भएको छ र यो समस्या तत्काल कसैले पनि सामाधान गर्न सक्ने सम्भावना छैन । त्यसकारण हामी जातिय नाताले एक होऊँ, सामाजिक संस्थात रुपमा एक होऊँ, सकिन्छ राजनितिक रुपमा पनि एक होऊँ । तर सिपालु पल्टेर कसैले पनि कसैलाई धार्मिक भाषण र घमण्ड अनि दबाब दिने काम बन्द गरौँ । यस्ले आन्तिरिक द्वण्डको विकास गर्ने काम बाहेक अरु केही फाईदा दिने छैन भन्ने सुझाव पनि पेश गर्दछु । जय मगर एकता । जय देउपित्र !

३ जेष्ठ २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको