ओझेलमा पारिएको युवा शक्ति


युवा को हो ? व्यक्ति अनि राष्ट्रपिच्छे परिभाषा फरक—फरक हुन्छ । उमेर समूहका आधारमा युवालाई छुट्याउने या युवापनलाई युवा भन्ने अहिले पनि बहसको विषय बन्दै आएको छ । युवालाई उमेर समूहको आधारमा मात्र परिभाषित गर्ने प्रचलन हाम्रोमा छ । युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जहाँ व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा आफूलाई अब्बल सावित गर्न संघर्षरत हुन्छ । युवा अवस्था मानव जीवनकै सर्वाधिक ऊर्जाशील समय हो । परिवारको प्रत्यक्ष निगरानीबाट मुक्त हुँदै आफ्नो क्षमतामाथि विश्वास गर्न थालेको हुन्छ । त्यसैले युवा अवस्था निर्णायक उमेर हो, जुन अवस्थाले विगत र भविष्यलाई जोड्छ ।

विश्व श्रमिक संगठनले १५–२९ वर्ष उमेर समूहका मानिसलाई युवा भनेको छ भने विश्व स्वास्थ्य संगठन र युनिसेफले १५–२४ वर्ष उमेर समूहलाई युवा भनेको छ । युवाको परिभाषा देशअनुसार फरक–फरक देखिन्छ । जस्तै : भारतले १५–३५, चीनले १४–२८, बंगलादेश र फिलिपिन्सले १५–३०, फिनल्यान्ड र नर्डिक युथ काउन्सिलले १६–२९ वर्षसम्मकालाई युवा भनेको छ भने हंगेरीमा १५–२६, जापान र जमैकामा २४, केन्यामा ३५ र पाकिस्तानमा ४० वर्षसम्मकालाई युवा मानिन्छ । नेपालमा १६–४० वर्ष उमेर समूहलाई युवाको परिभाषाभित्र राखेको छ ।

हाम्रो देशमा बेरोजगारको ठूलो समस्या हो । बेरोजगारीले बढाएको युवा पलायन डरलाग्दो छ । विभिन्न तथ्यांकअनुसार वर्षेनि पाँच लाख युवा नेपालको श्रमबजारमा आउँछन्, तर पाँच प्रतिशतले मात्र रोजगारी पाउँछन् । यसमध्ये पनि आफ्नो क्षमता र योग्यताअनुसार रोजगारी पाउनेहरू न्युन छन् । देशभित्र बेरोजगारीको भयावह स्थितिले युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् ।

दैनिक युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युरोप ,अमेरिकका लगायत खाडी मुलुकमा आफ्नो श्रम बेच्न विवश छन् । करिब ८० लाख नेपाली युवा कामदारका रूपमा मध्यपूर्व लगायत देशमा छन् ।
रोजगारदाताबाट शोषणमा पर्ने, तलब नपाउने, नेपाल फर्कन चाहेका बेला फर्कन नपाउने लगायत समस्यामा काम गरिरहनुपरेको छ ।

नेपाली युवा वैदेशिक रोजगारीमा श्रम बजारमा सस्तो र दु:खको काम गर्ने कामदारका रूपमा नेपाली परिचित छन् । देश छोडेदेखि नफर्किंदासम्मका सबै समय उसका लागि पीडादायी, भय र त्रासबीच बिताउनुपर्ने हुन्छ । विदेश पलायनको क्रम रोकिनेभन्दा झन् बढ्दो छ । अर्कोतर्फ उच्चशिक्षाका नाममा विदेश पलायन हुनेहरूको संख्या पनि कम छैन ।
राष्ट्र विकासको मेरुदण्ड युवा आफ्नै देशभित्र आफ्नो भविष्य असुरक्षित र अनिश्चित देखिरहेको छ । युवालाई देशभित्रै रोजगारको सिर्जना गर्नुपर्छ ।

नेपालमा चुनौतीका जति ठूला कुरा गरिन्छन्, तर सम्भावना पनि उत्तिकै छ । हामीले चुनौतीका धेरै कुरा गर्‍यौं, राष्ट्रिय र अन्तर्राष्ट्रियहरूमा । अनि सम्भावना कुरा गर्दै पछिल्ला दिनहरू गुजारिरहेका हामीले अब सम्भावनालाई नगदमा रूपान्तरण गर्ने दिन आएका छन् । सम्भावनाको सपनामा सीमित होइन, अब हामीले समृद्धिको यात्रा थालनी गर्ने हो भने सम्भावना बोकेका क्षेत्रहरूको पहिचान गर्दै कार्यान्वयनतर्फको यात्रा बढाउनुपर्छ ।

कृषि, जलस्रोत र पर्यटन नेपालको दीर्घकालीन विकासका आधारशिला हुन् । रोजगारीका लागि यी क्षेत्रहरू निकै सम्भावना भएका क्षेत्र हुन् । अनन्त कालसम्म अस्तित्वमा रहिरहने यी तीन क्षेत्रलाई राज्यले प्राथमिकीकरण गर्नुपर्छ । निजी क्षेत्र या राज्य कुनैको एकल प्रयासबाट मात्र यी क्षेत्रको विकास सम्भव छैन । यसका लागि निजी र सरकारी दुबैले हातेमालो गर्दै देशलाई समृद्धिको मार्गमा डोर्‍याउन ढिलाइ गर्नुहुन्न । यसका लागि शिक्षामा पनि व्यापक सुधार गर्नु अत्यावश्यक छ ।

बेरोजगार शिक्षित उत्पादन गर्ने कारखाना बनिरहेको आरोप छ, नेपालका शिक्षालयलाई । यसकारण जीवनोपयोगी र रोजगारमुखी शिक्षामा हामीले जोड दिनसक्यौं भने अहिले जुन रूपमा बेरोजगार समस्या देखिएको छ, यसमा सुधार आउनेछ ।

नेपालमा अहिलेसम्म भएका सबै राजनीतिक परिवर्तनको अग्रमोर्चामा रहँदै आएको युवा परिवर्तनपछि भने सधैं भूमिकाविहीन हुँदै आएको छ । युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै सधैं मूलधारबाट बञ्चित गराइँदै आएको छ । तर सबैले बुझ्नुपर्ने सत्य के हो भने युवा भविष्यमात्र होइन, वर्तमानको हिस्सेदार पनि हो । वर्तमानमा युवाको अस्तित्व अस्वीकार गर्नु भनेको युवालाई भविष्यको सपना देखाएर सधैं भूमिकाविहीन बनाउनु हो । युवाको क्षमताप्रतिको अविश्वास हो ।

राजनीतिक दलभित्र युवाको उपस्थिति तल्लो तहमा उत्साहजनक रहे पनि नेतृत्व र नीति निर्माण तहमा सन्तोषजनक देखिँदैन । एकाध युवाहरूको प्रतिनिधित्व त्यहाँ देखिए पनि त्यसमा सन्तुष्टि हुनसक्ने अवस्था छैन । युवाहरूको भूमिका निर्णायकभन्दा सहायक र सहयोगीका रूपमा मात्र सीमित छ ।

पाका नेताहरूमा युवाशक्तिबारे उपभोक्तावादी चिन्तन हावी छ र उनीहरूलाई भ्रातृ संगठनमा मात्र प्रयोग गरेका छन् । युवालाई पार्टीभित्र सिप, क्षमता र योग्यताका आधारमा सिर्जनात्मक ढंगले उपभोग गर्नेभन्दा पनि पार्टीको शक्ति प्रदर्शनका रूपमा उनीहरू प्रयोग भइरहेका छन् । युवालाई नेतृत्व प्रदान गर्न पुरानो पुस्ता उदासीन छ । अहिले नेपालका ठूला दलहरुको नेतृत्वलाई हेर्दा ६० वर्ष माथिको छ । यसले पनि युवाप्रति दलहरू गम्भीर नभएको स्पष्टै हुन्छ ।

युवा नभए पनि युवापन र युवामन भएको व्यक्ति दल र सरकारको नेतृत्वमा पुग्यो भने पनि युवाका क्षेत्रमा निकै काम हुनसक्छन् । तर हामीकहाँ पुरानै संस्कार र संस्कृतिमा रुमल्लिरहेका नेताहरू जो युवाका मुद्दाहरूप्रति गम्भीर देखिँदैन । यिनीहरूले युवाहरूलाई सम्भावना होइन, चुनौतीका रूपमा लिन्छन् । अन्य देशले युवाहरूलाई परिवर्तन र विकासको सम्वाहक भनिरहँदा हामीकहाँ ठीक विपरीत रूपमा लिइन्छ । युवाप्रति हेर्ने दृष्टिकोण नै सही छैन । नेतृत्वको सोचमा परिवर्तन आउनु जरुरी छ ।

  • लेखक नेपाली जनप्रगतीशिल मध्य पूर्ब मोर्चाको संयोजक हुनुहुन्छ ।
४ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको