कात्तिक ३०, काठमाडौँ । लामाे समयकाे उपचारपछि हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन्।
झन्डै ६ महिनापछि उनी हास्य टीभी सिरियल ‘मेरी बास्सै’को छायांकन सेटमा फर्किएकी हुन्। मंगलबार आफ्ना सहकर्मीले स्वागत गरेको तस्बिर सार्वजनिक गर्दै कलाकार डंगोलले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज बेलुका मेरी बास्सै हेर्नुहोला। म हजुरहरुलाई भेट्न आउँदै छु।’
मिर्गाैला रोगका कारण उनी लामो समयदेखि अस्पतालमा थिइन्। तर मिर्गौला प्रत्यारोपण गर्न बाँकी नै छ। गत जेठमा अस्पताल भर्ना भएकी उनलाई डाक्टरले दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन्।
परिवारकै एक सदस्यले उनलाई मिर्गौला दिने बताइएको छ। यसको कानुनी प्रक्रिया पूरा गरिँदै छ। आगामी माघमा मिर्गौला प्रत्यारोपण हुने परिवारजनले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस