-बीजी मगर
असार संक्रान्तिमा भू अथवा नाम/बलको पूजा र साउन संक्रान्तिमा म्हेँ/राङ अथवा आगोको पूजा गरेर मान्ने गरिन्छ । समग्रमा भन्नु पर्दा एक वर्षको भुम्हेँ/भुमे/भुम्या/नाम्क/बल्क परम्परागत चलन चल्ती अनुसार विधिगत रुपमा मान्दै अन्त्य गर्ने गरिन्छ । भने मगरहरूले मान्दै आएको दुई मास वा ऋतु मध्य उभौलीको अन्त्यसँगै उधौलीको सुरुवात साउने संक्रान्तिमा मनाइन्छ । असार संक्रान्तिमा भू अर्थात नाम/बलको पूजा गर्यो भने भेल बाढी, पहिरो जाँदैन भने साउन संक्रान्तिमा म्हेँ/राँको अथवा आगोको पूजा गरी घाट, गंगा, खोला पार गर्यो भने काल कुस्त रोगव्यादी नौ ग्रह शान्ति हुन्छ, केही लाग्दैन भन्ने प्रचलन पनि छ । त्यसैले नै साउने संक्रान्तिलाई राङ्ख्या /राँके संक्रान्ति वा तिवार संंक्रान्ति भन्ने गरेको गरिन्छ ।
म्हेँ/राङ्ख्या/राँके तिवार ?
राङ्ख्या शब्द मगर खाममा राँका/राङ्का (आगोलाई चिनाउने मुस्लो/भाङ नाम शब्द ।) र ख्या फाल (फाल्नका लागि गरिने आज्ञार्थक शब्द।)को संयोजनबाट भएको हो अथवा आगोको मुस्लो फाल्ने क्रियाबाट बनेको शब्द हो राँख्या/राङ्ख्या । म्हेँ/आगो पुजेर राँका/राङ्का भाङ फालेर मानिने भएकोले राङ्ख्या/राँके तिवार भन्ने गरिन्छ । तर अहिले राँके तिहार भन्न र लेख्न थालेको देख्दा दुःख लाग्छ । किनकि हाम्रो ठेट शब्दहरूलाई हामीहरूले नै नामेट गर्दै लगिरहेको त छैनौं ? भन्ने कुरामा पनि महशुस हुन्छ । खासमा राङ्ख्या/राँके तिवार नै हो । मगर खाममा तिवारको खास अर्थ त भेट्दिन तर पहिल्यैदेखि तिवार संक्रान्ति भन्दै आइएकोले कतै साउन महिनाको नाम मगर खाममा तिवार त होइन भन्ने अनुमान भने गर्न सकिन्छ । किनकि रम्माहरूको सिरुङपारूङ सुल्क/धुर/खेतीमा (काना गोरह/गोपारूङ (मानव पुर्खा) र थुते सेपारुङ (सिमेभुमेको पुर्खा)को अंशबन्दा गर्न खोज्दा तिवारमासमा वारि जलजल हुन्छ पारी जलजल हुन्छ । खोली खहरे बढ्छ । भेलवादी चल्छ । साँघु बग्छ । आगो पुज्ने मैना, ग्रह फाल्ने मैना । मन्जुत्याइँ/मानुवाहरू लागि कालोमास हो । अंश छुटाउन मिल्दैन भनेर गोपारूङले सेपारुङलाई तारेको हुन्छ ।) त्यसैले तिवार मास भन्ने शब्दले यो कुरालाई पनि प्रमाणित गर्दछ कि साउन महिनाको नाम मगर खाममा तिवार हो भनेर ।
राङ्ख्या तिवार किन र के-के गरेर मानिन्छ ?
माथि नै भनिसकेको छु, अठार मगरातका मगरहरुले वर्षमा दुई ऋतुहरु मान्ने गर्दछन् । साउने संक्रान्तिदेखि पुस मसान्तसम्मको अवधिलाई उँदेली (उधौली) र माघ संक्रान्तिदेखि असार मसान्तसम्मको अवधिलाई उँभेली (उभौली)का रुपमा मान्ने गर्दछन्/गरिन्छ । साउने संक्रान्तिमा आगोको पूजाका साथै उँभेलीको विदाइ र उँदेलीको स्वागतको रुपमा मानिन्छ । त्यस बाहेक तिवार संक्रान्तिका दिन ओखला पुजा गर्दै माघ संक्रान्तिबाट बन्द गरिएका नङ्ग्रा/दमाह र रिङ/ढ्याङ्ग्रो बाहेकका सम्पूणर् गाजाबाजाहरू उदेँलीमास अथवा पुस मसान्तसम्मको लागि फुकाइन्छ । असार महिनाका लागि र आफन्त मरेकाहरूले सिस्नो फुकाएर खाने गरिन्छ । छोटो बुँदागत रुपमा यसरी राखिएको छ ।
· आगोको पुजा रोगव्यादी काल ग्रह शान्त होस् भन्ने कामना गर्दै
· ओखला पुज्दै माघ संक्रान्तिबाट बन्द गरिएको नचारु बाजाहरू फेरी त्यही समयसम्मलाई फुकाउँदै
· असार संक्रान्तिबाट बन्द गरिएको सिस्नो खाने फुकाउँदै/घरका मान्छे वा आफन्तको मृत्युका कारण बन्द गरिएको भए पनि यही समयमा पनि फुकाएर खाने गरिन्छ र
· मगर संस्कारमा मानिने दुई ऋतुमा उभेलीको बिदाई र उँदेलीको स्वागत गर्दै ।
आगोको पुजा र राङ्ख्या कसरी फालिन्छ ?
तिवार संक्रान्ति वा साउन एक गतेका दिन घरहरु लिपपोत गरी भाडाकुडाहरु सफा सुघर गर्ने गरिन्छ । भने जाँटो, ढेँकी, गुरुङ(भण्डार) भार लगायतका ठाउँहरू टकटक्याइ सफाइ गरिन्छ । किन भने आँखा नदेख्ने, लुला लङ्गडो झ़े असान मसान ग्रहहरू यस्तै कुनाहरूमा लुकेर बसेका हुन्छन् र तिनिहरूले मान्छेहरू सास्ती दिने गर्दछन् भन्ने मान्यताले सरसफाइमा विशेष ध्यान दिने गरिन्छ । बेलुकीपख चिल्लो रोटी हाल्दछन् । घरमा पित्रसक (मृतक कुल वा पुर्खाहरू जो चुलोमाथिको भारमा बस्छन् भन्ने मान्यता छ । र तिनीहरूलाई हरेक चाँडपर्वमा चढाउनका लागि पहिल्यै जार अथवा लिस पित्रसक पकाउने गरिन्छ र त्यै जाँडको निङ्घारलाई लिसको रुपमा र खानलाई पकाइसकेको चिल्लो रोटी लगायतका खाने कुराहरू नखाँदै पित्रहरूलाई चढाउने गरिन्छ ।) हाल्छन् । र घरको मुख्य पुरुष वा कन्या केटाले नुहाइधुहाई गरेर चार ओटा भलायोको पात वा भलायोको दाउराको आगोको राँको बनाउँछन् भने कतै कतै खर्सुङ वा बाँझको अगुल्टो पनि बनाउने गर्दछन् । ओखतीको रुपमा प्रयोग हुने झारजंगलहरू कुरिलो, युमे (बाँदर पुच्छर), भलायो, कुच्चर, कारजुङ, दाङरु जम्मा गर्ने गरिन्छ । भने सबै तयार भइसकेपछि घरको बाहिर अग्लो ठाउँमा एउटा राँकोलाई बाध्दछन् । त्यसको मुनि नौरेखि नौबाटी राखेर बाँधेर राखेको राँकोलाई सेतो र रोतो जुङली धजा बाँधेर धुप धुवनँरसँगै रोटी, र रक्सी चढाई पुज्छन् र बाँकी तीन वटा राँकोलाई सल्काएर कराउँदै तिनै दिशा उत्तर, पश्चिम र दक्षिणतिर फालिन्छ । राँको जति सकिन्छ उति टाढा फाल्यो भने उति ग्रहहरु शान्ति हुन्छन् भन्ने विश्वास र मान्यताले जति सक्यो उति नै कसेर फाल्ने गर्दछन् । कोही कोहीले अगुल्टो पनि फाल्ने गर्दछन् । यस्तो गर्नाले रोगव्यादि, ग्रहदशा लाग्दैन भन्ने परम्परागत मान्यता छ । भने कतै कतै लुतो फाल्ने पनि गरेको पाइन्छ । राँको फाल्दा कोही कसरी कराउँछन् कोही कसरी तर धेरै जसो यसरी कराउँछन् । काना झे़, दुन्डा झे़, असान मसान, झिनै देसान, कन्थाबरन दंकी, कालजम, कुरीकुस्त, कुलकपत, नौग्रह पार दुब्द लाङ्के ओ हो हो हो भनेर फाल्दछन् ।
नेपालीमा काना झे़ (एउटा आँखा नभएको मान्छेलाई सताउने राक्षस स्वभावको अदृश्य शक्तिै, दुन्दा अपांगै झे़, असान मसान (अकालमा मरेका मृत आत्माहरूले अदृश्य शक्तिको रपमा जीवित मानवहरूलाई सताउन भएको शक्ति), जिनै देसान (रगत रगत दिसा गर्ने रोग र रुघाखोकी), कन्थाबरन दंकी (क्यानसर र दम रोग), कालजम (मान्छेलाई मार्न तम्सेका अदृश्य शक्तिहरु), कुरीकुस्त (कुस्तो रोग), कुलकपत (अरूबाट गरिएको तान्त्रिक छल), नौग्रह, पार दुब्द (सबै जम्मा गरेरै लाङ्के (लैजाऊ)
यो एउटा मगरहरुको प्रकृतिप्रतिको समर्पण र पुर्खौँदेखिको सामाजिक संस्कार पनि हो । राङ्ख्या/राँके तिवार भूम्हेँसँगै जोडिएकोले केही ठाउँमा साउने संक्रान्ति पश्चात् भूम्हेँमा नाचिने नाचहरु पनि यसै संक्रान्तिसँगै गरिन्छ । एक वर्षको भूम्हेँको अन्त्य पनि यसै संक्रान्तिसँगै गरिन्छ । विशेषगरी रुकुमको तकसेरामा राँके जात्राका नामले मेला लाग्दछ भने रोल्पाको वा खोला, सेरम घुस्बाङ, ह्वामा र धाँसीतिर राँकेतिवार रामको नामले मेलाहरु लाग्दछन् ।
तिवार ठाउँ अनुसार फरक फरक ढंगले मेलाहरु गरिन्छ । रुकुमको लुगुममा एउटा चौतारो छ, जहाँ सबै मगर थरका झाँक्रीहरुले वर्षको पालोगरी एक एक पठाइन्छ । त्यसपछि जम्मा भएका झाँक्रीहरुले मेला बनाउँदछन् । यस मेलामा झाँक्रीहरुका सामान बोक्ने (चुन्मे अथवा झाँक्रीहरुका चेली बिहे गर्ने मान्छे)हरुले र गाउँका सबै उमेरका मान्छेहरु मिलेर ङन्तिराम (सिस्नु मेला) बनाउँछन् । सिस्नुलाई जसलाई पायो उसैलाई हान्छन् । साथै हिलोले छेपाछेप गरी हिलो मेला गर्ने चलन पनि छ । यो मेला रुकुमको मगर खाम बोल्ने समुदायमा गर्ने गरिन्छ । यसरी असार र साउनको संक्रान्तिहरुमा भूम्हेँ अथवा बन (नाम) जमिन र म्हेँ (आगो)को पूजा गरी एक वर्षको भूम्हेँ पर्वको अन्त्य गरिन्छ ।
भुम्हेँ/भुमे र तिवारमा नाचिने लोको/नोकोबाङ्गे नाचः-
बाङ भनेको चउर हो र लोकोबाङ भनेको नाच्ने चउर हो । कतै नोको(त्यहाँ)बाङ पनि भन्ने गर्दछन् । लोको/लोकोबाङमा नाचिने भएकोले लोको/नोकोबाङ्गे नाच भनिन्छ । तर अन्यातिर जानकारी गराइँदा भुमे नाच भन्ने गरिएको पाइन्छ । अठार मगराँतका मगरहरू प्रकृति पुजक भएकोले पनि उनीहरुको कला, संस्कृति र जीवन दर्शन पनि प्रकृतिसँगै गाँसिएको हुन्छ/छ । किनकि लोकोबाङ्गे शब्द पनि प्रकृतिसँगै गाँसिएको छ । नाचको नाम मात्र लोको/नोकोबाङ्गे र यसभित्र पनि विभिन्न प्रकृतिसँगै जोडिएको मानव जीवन यापनका क्रियाकलापहरूलाई नाचको रुपमा नाच्ने गर्दछन् । केही नाँचहरु लोप हुँदै गइसकेका छन् भने ठाउँ अनुसार फरक फरक नाँचहरु छन् । खास गरी लोकोबाङ्गे नाँच बाईस चाला (ताल) हुन्छ भन्छन् अग्रज मगरहरु तर अहिलेको अवस्थामा एक गाउँ वा ठाउँमा त्यति चाला नाचहरू भेटिदैनन् र नाचिदैनन् । तर, सबै गाउँ ठाउँका लोकोबाङ्गे चालाहरूलाई जम्मा गर्ने हो भने बाईस चाला होइन बाईस तियाँ छैसठ्ठी चाला भन्दा बढी चालाहरू निस्कने कुरामा भने विश्वास गर्न सकिन्छ ।
लोको/नोकोबाङ्गे नाँच नाच्न महिला एक लाइन र पुरुष एक लाइन गरी दुई लाइनमा हुन्छन् । पुरुष भित्रपट्टी र महिला दाहिने पंक्तिमा हुन्छन् । मुर्लालाई बीचमा पर्ने गरी गोलाकार दाइनेबाट घुम्दै नाँच्दछन् । भने पुरुषहरु खुट्टामा पैजन(पउ+जाने अथवा खुट्टामा राख्ने बाजा), चौबन्दी, खाडी, लालपटुका, बाङग्रा, टोपी, लगाई कोठीमोहरा भिरेर नाँच्दछन् भने महिला पनि त्यस्तै गुन्यू, चोली, पटुका, सुर (गाडा) रुमाल, इत्यादि लगाई आफ्नो औकातले भ्याएको गरगहनाहरु लगाई पछ्यौरी लिएर नाँच्दछन् ।
अन्तमा:
राङ्ख्या तिवारको बारेमा छोटकरीमा यतिको कुरा राखिरहँदा साच्चै मगरहरूको पुर्खाहरूले अलिखित तर जीवित साँस्कृतिक र इतिहासहरूलाई पुस्ता हस्तान्तरण आएको देखिन्छ । तर पछिल्लो समयमा केही शिक्षित व्यक्तिहरूबाटै यस्ता जीवित साँस्कृतिक र इतिहासिक पहिचानका कुराहरूलाई रुढीवादीको संज्ञा दिएर नामेट गर्न खोजेको पाइन्छ भने कसैले हाकाहाकी यिनै कुराहरूलाई मिथ्या र अन्य कुनै धर्मको लेपन लगाएर मेटाउन खोजेको पाइन्छ । त्यसै त दशवर्षे जनयुद्धको समयमा माओवादीहरुबाट हामी पुरानो संस्कृति ध्वंसकारी र नयाँ जनवादी संस्कृतिको निर्माणकारी भनेर जानाजान हाम्रो यस्तो किसिमको जीवित संस्कार संस्कृतिहरू माथि खेलबाड गरियो र झन् पछाडि पारियो । भने पछिल्लो समयमा सामाजिक सञ्जालहरूले गर्दा अगाडि आउन खोजिएको लोपोन्मुख हाम्रो संस्कार संस्कृतिहरूलाई कोही कसैबाट अझै पछाडि पार्न खोजिएको त होइन भन्न भान हुन्छ । तर यस्ता कुराहरूको हामी शिक्षित युवा पुस्ताले डटेर सामना गर्न सक्नु पर्दछ । हाम्रो अलिखित सांस्कृतिक र इतिहासिक कुराहरूलाई दस्तावेजीकरण गर्न अगाडि बढनु पर्दछ । जधो !
प्रतिक्रिया दिनुहोस