पहिरोले राप्ती राजमार्ग अवरुद्ध

फाइल तस्बिर

असार २, सल्यान । अविरल वर्षासँगै आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट खसेकाे पहिरोले दाङ-सल्यान सडकखण्ड अन्र्तगतको राप्ती राजमार्ग बुधबार साँझदेखि अवरुद्ध भएको हो ।

कपुरकोट गाउँपालिका ३ दसरेमा सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले बताए ।

उनकाअनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । बिहान देखि जेसिभि लगाएर पहिरो पन्छाउने काम भएपनि पानी निरन्तर परिरहेकाेले खुलाउन गाह्राे भैरहेकाे छ । सडक अवरुद्ध हुँदा तीन दर्जन बढी सवारी साधन जाममा परेका छन् ।

यसैबीच पहिरोले घर पूर्ण रुपमा जोखिममा परेपछी कपुरकोट ३ बस्वारीमा एक घर परिवारलाई प्रहरीले सुरक्षित स्थानमा राखेको छ । अविरल वर्षाका कारण शोविर डाँगीको घर पूर्ण रुपमा जोखिममा परेपछी ५ जनाको परिवारलाई छिमेकीको घरमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै छत्रेश्वरी गाउँपालिका ४ लंकिनी खोलामा आएको बाढीले खेत बगरमा परिणत भएको छ । बाढीले २० घरको ६० रोपनी खेत बगाएकाे स्थानीयहरुले बताएका छन् ।

बाढीले रोपेको, रोप्न तयार भएको र व्याड समेत बगाएको वडाध्यक्ष नेव बहादुर खड्काले बताए । पानी नराेकिएपछि शारदा नदिकाे बहाव पनि अहिले उच्च रहेकाे छ ।

२ असार २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको