दाङबाट सुरु भयो लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको काम


मङ्सिर २९, दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले काम सुरु गरेको छ । बुधबार राप्ती उपत्यकाको सिसहनियामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले मन्त्रालय उद्घाटन गरी सेवा सुरु गराएका हुन् ।

मन्त्रालयले पूर्णरूपले राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी गराउँदै मन्त्री थारूले अब छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाटै सेवा सुरु गर्ने बताए । मन्त्री थारूले प्रदेश सरकारको निर्णयअनुसार सबैको सहयोगमा राजधानीको सफलतासँगै राजधानी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए । संघ सरकार र प्रदेश सरकारको नीतिअनुसार सबै पालिकामा १५ सैय्याको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको बताउँदै स्वास्थ्य सेवामा मध्यकालिन तथा दीर्घकालिन रणनीतिका साथ काम भइरहेको बताए ।

मन्त्री इन्द्रजित थारूले कोभिडको तेस्रो भेरिएन्टबाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश सरकारले संघ सरकारसँग खोपको ब्यवस्थाको लागि पहल गरिरहेको समेत बताए । मुख्य कार्यालय उद्घाटनमा बोल्दै राज्यमन्त्री विमला कुमारी खत्रीले स्थायी राजधानीमा मन्त्रालयको काम सुरु भएसँगै नागरिकले सरल र सहजरूपमा सेवा पाउन सक्ने र मन्त्रालयले राम्रो काम गरेर देखाउनुपर्ने समय रहेको बताइन् ।

मन्त्रालयको मुख्य कार्यालय उद्घाटनमा बोल्दै सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवामूलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताए । निर्देशनालय, आपूर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रबन्ध गर्दै मन्त्रालयलाई पूर्णरूपीमा सेवा दिन तयार बनाइने बताए । १२ जिल्लामा नागरिकको सेवा क्षेत्रको काम गर्दै सचेतना, नीति निर्माण, योजना निर्माण गर्ने काममा मन्त्रालय द्रूतरूपमा लागिरहेको देवकोटाले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफूहरूले स्थायी राजधानीका लागि सबैकुरा जोखिममा राखेर सहयोग गरेको तर सुस्त–सुस्त राजधानीको मेलो सर्दै गरेको बताए । राजधानी व्यवस्थापनका लागि स्थानीय राप्ती–गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका नागरिकबाट भरपुर सहयोग रहेको बताए ।

लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष गोवद्र्धन रावत, खानेपानीका अध्यक्ष शान्तराज पन्थी, उपसचिव राजेन्द्र प्रसाद पन्थीलगायतले शुभकामना मन्व्य व्यक्त गरेका थिए ।

२९ मंसिर २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको