सुनमाया मगर
यो ठाउँको सुन्दरताको बारेमा जति नै व्याख्या गरे पनि अपुग्नै छ । वर्षाको समयमा विभिन्न फूलले लपक्कै ढाकेको देख्न पाइन्छ भने असोज- कार्तिक तिर हिमाल हाँसे सँगै आधा नेपाल देख्न पाइन्छ ।
बागलुङ, प्युठान र रोल्पा जिल्लाको सिमानामा अवस्थित कोथिभिर समुन्द्री सतहबाट ३८०० मिटर हारहारीको उचाईमा रहेको छ । कोठी भिर सुन्दा अनौठो नाम भएपनि यसको नामकरण कोठो (भकारी) जस्तो आकार भएकोले यस ठाउँको नाम कोथी भिर रहन गएको यहाँका बुढापाकाहरुको भनाई रहेको छ ।
टुप्पोमा ढुङ्गाको थान छ, जसमा यात्रुहरुले फूलपाती, ध्वजा, पैसा चढाउने गर्छन् । छेउमा फलामको नेपालको झण्डाले झन् ठाउँको सौन्दर्य वृद्धि गरिदिएको देखिन्छ । नजिकै अलिक तल जन्ती ढुंगाको लस्कर देखिन्छ । मानौं साच्चिकै जन्ती जांदै गरेको जस्तो ढुंगाका लावालस्कर ।
जन्ती ढुंगाको पनि आफ्नै कहानी छ । पहिला कुनै जमानामा जन्ति आउँदा थकाइ मारिरहेको वेला पहिरोले च्यापिएको कहावत छ । हुनत हेर्दा पनि त्यस्तै त्यस्तै लाग्छ । आश्चर्य जनक दृश्यहरु ।
असार- सावन तिर विभिन्न प्रकारका फूलहरू जस्तै रथविरथ, पतिनी, कप्टेरी, प्याउली, भुईपाटी(जुन एकदमै मिठो बसाउँछ), मेला फूल इत्यादि पाइन्छ ।
यो ठाउँभन्दा अलिक तलतिर ढोकायो साग, चुकुम-अमिलो(पदमचाल), टुसा, विभिन्न थरीका च्याउ पाइनुको साथै अलिक तल तिर गुराँसको रूखहरू बढी भेटिन्छन् । गुराँस फुल्ने महिना चैत-वैशाखमा भने वनै ढकमक्क पारिदिन्छ । यसैगरी विभिन्न थरीका चराचुरुङ्गी जस्तै डाँफे, मुनाल, आदि सँगै जँगली जनावरमा घोरल, बँदेल, रतुवा, कस्तूरी ईत्यादि पाइन्छन् ।
असार-श्रावनको समयमा जाँदा कुहिरोले छिन्नमै सुन्दर नजारा ढाकिदिन्छ भने छिनमै खुल्ला गरिदिन्छ। मानौं प्रकृतिले लुकामारी खेलेको जस्तो । बागलुङ, प्युठान र रोल्पाबाट वर्षेनी यो समयको आसपासमा धोकायो, अमिलो, च्याउ र टुसा टिप्न आउने गर्छन् । असोज-कार्तिक को समयमा मन नै लाभान्वित पार्ने सुन्दर दृश्य देख्न पाइन्छ । हिमाल र डाँडा- काँडाले घेरेको सँगै बादल माथिको संसार । अझ बिहानपख घामको झुल्के र बेलुकापखको सुर्यास्त । ओहो ! त्यो घाम को सुनौलो किरण देख्न पाउँदा मननै प्रफुल्लित बन्न जान्छ । अझ चिन्न सकियो भने त सगरमाथा पनि देखिन्छ ।
यस स्वर्ग जस्तो स्थानमा बागलुङको निसिबाट १०-१२ घण्टा पैदल यात्रा गरेर पुग्न सकिन्छ भने प्युठान र रोल्पाबाट आइपुग्ने मार्गहरू पनि भिन्न छन् । बागलुङबाट जाँदा बाटैमा सर्पको आकृति भएको अचम्मको ठूलो ढुंगा भेटिन्छ । छेउमै सर्पले पानी खाने खोप रहेकोमा आज भोलि फूलपाटी चढाइन्छ ।
नजिकै हिले भन्ने ठाउँमा १-२ वर्षे गोठहरु भेटिन्छ भने त्यसको ठीक शिरमा घोडेँढुंगा रहेको छ । यसबाट चढेर वरपर नियालदा मुटुले ठाउँ छोड्छ । अति नै कहालीलाग्दो भिर रहेकोछ ।
यसैगरी प्युठानबाट आउँदा बाटैमा नौबैनी झरना देख्न पाइनुका साथै मन्दिरको दर्शन पनि गर्न पाइन्छ । नौं वटा झरना बगेको भएर नौंबैनी झरना भनिन्छ भने एकठाउँमा त झन झरना भित्र सानो गुफा पनि रहेको छ ।
अतिनै सुन्दर यो ठाउँ निकै नै व्यवस्थित ढंगले सजाइएको छ । नजिकै विभिन्न गोठहरु भेटिन्छन् भने स्यालीबाङ बजार पनि नजिक नै पर्छ ।
कोठी भिर टुप्पो पुग्नु अगावै १-२ वटा वर्षे गोठ भेटिन्छन् भने नजिकै सानो ताल रहेको छ जुन हिउँदोको समयमा सुक्ने गर्छ । स्याउलीबाङबाट गोठालो आएर गाई- भैंसी, भेडा ल्याउने गर्छन् भने खाने पानी त्यहीँ तालकै प्रयोग गर्छन् । तालको वरीपरी फोहोर गर्यो भने छल्छ भन्ने मान्यता छ । गोठालाहरू आएका बेला खान-बस्न सजिलो भएपनि आफैले व्यवस्था मिलाएर आउनुपर्ने हुन्छ । फेरि हिउँदो बेला गोठालोहरु तल झर्ने गर्छन् भने ओढ्ने र खानेकुरा को व्यवस्था पूर्ण रूपले यात्री आफैले गर्नु पर्ने हुन्छ ।
यात्रा जतिनै कठिन भएतापनि कोठी भिरको टुप्पोमा पुगेर देखिने रमणीय दृश्यले मन्नै प्रफुल्लित गर्नुका साथै हिँडेको थकान सबै मेटिदिन्छ । यति रमणीय ठाउँ भएर पनि प्रचारप्रसारको अभाबका कारण पर्यटकहरुको लागि गुमनाम जस्तै छ । यसमा सम्बन्धित निकायको ध्यान गएको खण्डमा पर्यटन बिकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।
यो सुन्दर ठाउँ जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ मध्यको एक हो । भनिन्छ नि, यात्रा गर्नेले संसार देख्न पाइन्छ ।
अन्य तस्विरहरु:
प्रतिक्रिया दिनुहोस