ए काइला !
कहाँ जान लाको ?
ए … तिमीले भनेको ताराहरुको शहरमा ।
त्यहा त माईलो साईलो राईलो कान्छो,
माईली साइली काईली राईली कान्छी त
जन्मनु अघि मारिन्छ्न ।
राम्ररी गए है बा!
सवथोकको मोल हुन्छ बा!
हावासम्म नि किन्नु पर्छनी
तिम्रो हेराईको मोल
सुनाईको मोल
पिडौला को मोल
अ.. तिम्रो रुपरङ्ग देखि
सारा अङ्ग अङ्गको मोल तोकिएको हुन्छ बा!
काइला तिम्रो पाखुरी र पिठ्युँको मोल
सारै कमजोर छ।
तिम्रो इमानी बोलिले
आफैलाई मुर्गा बनाउने छ।
ताराहरुको शहरमा तिमी बिक्नु छ,
आफ्नो मुल्यस्तिकर निधारमा चेपकाई
विज्ञापन गर्न सिक्नु छ, बा!
अ.. सुन त
ताराहरुको शहरमा
चरीलाई उडन
कुकुरलाई बुक्न
इजाजत चाहिन्छ, बा!
प्रतिक्रिया दिनुहोस