माघे पर्वको शुरुवात यसरी भयो- धुर्ब पुन ‘गुमाने’


धुर्ब पुन “गुमाने”
इतिहासको दृष्टिकोणले माघे संक्रान्ति मगर जातिको अत्यन्तै महत्व बोकेको एक साँस्कृतिक पर्व तथा प्रमुख राष्ट्रिय चाड हो ।

प्राचीन युगतिर अहिलेको गुल्मी जिल्लामा रहेको रिडि नदिलाई अठार र बाह्र मगरातको सिमाना निर्धारण गरिएको थियो । त्यो बेला राज्य संचालन सम्बन्धमा एउटै आमाका दुई सन्तान काला र गोरा भाइको एकआपसमा झगडा भयो । झगडा मिलाउन आमाले दुबै भाइ र प्रकृति भुमिलाई साक्षी राखेर कालीगण्डकीको पानीमा आफ्नो दुबै स्तनबाट दुध चुहाएर साधिसिमाना तोकिदिनु भयो ।

आमाले भन्नू भएछ- “उप्रान्त तिमी दुईभाइ यो पानीलाई कुल्चेर वारपार नगर । अब देखि दुईभाइ बिचमा यहि पानीलाई सिमाना बन्धन बनाइ दिएको छु । मेरो मृत्यु पश्चात् तिमीहरू यहि पानीमा पितृपिण्ड भुमिकुण्ड र यो दुधको भार बुझाउन आउनु । अब देखि दुबैभाइले आफ्नो जन्म दिने आमा, भुमि, प्रकृति र पानीलाई साक्षी राखेर एकआपसमा लडाइ झगडा नगर्नु ।”

सिमानाको पानी समेत नकुल्चने बाचा गरेर काला भाई उक्त ठाउँबाट पश्चिम तर्फ लाग्यो भने गोरा भाई पूर्व तर्फ लाग्यो ।

पश्चिममा कालाभाइले अठार गणराज्यहरु निर्माण ग-यो भने पूर्वमा गोराभाइले बाह्र गणराज्यहरु निर्माण ग-यो । जसलाई १८ मगरात र १२ मगरात भनिन्छ । अठार गणराज्यमा बोलिने मगर खामबाट पानीलाई “रि” भनिन्छ भने बाह्र गणराज्यमा बोलिने मगर ढुटबाट पानीलाई “डि” भनिन्छ । कालान्तरमा आएर त्यो सिमानाको नाम दुबै राज्यमा बोलिने भाषाबाट “रिडि” नाम रहन गयो ।

समयको केही अन्तराल पछि माघे संक्रान्ति अर्थात माघ महिनाको एक गते आमाको मृत्यु भएको हुँदा दुबै राज्यका भाई उक्त “रिडि” मा चोखो चोखिन आए । जौ, तिल र मासको दाल टीका लगाई जंगली तरुल र चामल दाल एकै ठाउँ मिसावट गरि घिउ राखी पकाएको खिचडी भुमि प्रकृतिलाई चढाएर आमाको दुधको भार उतार्न र आमाको सम्झनामा दानदक्षिणा दिने गरियो । त्यही दिन चेलीबेटीहरुलाई टपरीमा फलफुल, तरुल, तेलमा पकाएको रोटी र पैसा राखी पुजेका थिए ।

सोही समय देखि प्रत्येक माघे संक्रान्तिको अवसरमा सके सम्म रिडि नसके नजिकैको त्रीबेणी नदिसम्म पुगेर मृत्यु भएका परिवारजनको चिनो, अस्तु बगाउने धानदक्षिणा दिने, चेलीबेटी पुज्ने चलनको शुरूवात भयो । यसो गरेमा मृत्यु भएको ब्यक्तिको आत्माले शान्ति पाउने र चेलीबेटी पुजेमा मोक्ष प्राप्त हुने बिश्वास गरेको पाइन्छ ।

रिडि मगर जातिको साँस्कृतिक केन्द्र भएको कारणले देशका विभिन्न ठाउँबाट त्यहाँ जाने चलन छ । कुनै बेला रुकुम रोल्पाका गाउँहरुबाट रिडि पुग्न पन्ध्र सोह्र दिनको यात्रा तय गर्नु पर्दथ्यो ।

माघ महिना देखि गर्मी याम शुरु हुने भएकोले जाडो याममा ओढार भित्र लुकेर बसेका मृगहरु गर्मीमा पानी खान मुल खोला तिर आउने, शितल मार्न रुखको छहारिमा आउने भएकाले हाम्रा पुर्खाहरुले युवाहरूलाई शिकारी विद्यामा सिपालु गराउन ठिक निशाना लगाउनका लागि माघे संक्रान्तिको दिन देखि नै तारा हान्ने खेलको आरम्भ गरेका थिए ।

मगर समुदायले माघे संक्रान्ति तीन दिन देखि सात दिन सम्म मान्ने गरिन्छ । माघे संक्रान्तिको पहिलो दिन रिडि जान नसकेमा बिहान सबेरै उठेर घरमुली लगायत सबै दाजुभाइहरु नजिकैको खोला नदि र पधेँरोमा गएर नुहाउने चलन छ । अनि जौ, तिल र मासको दालको टीका लगाई सानो टपरीमा तरुल जौ तिल सिक्का र धूपबत्ती बालि खोलामा बगाउने चलन छ । यसो गरेमा बर्ष भरिको ग्रह दशा बगेर जाने बिश्वास समेत गरिन्छ ।

नुहाएर आएपछि घरमुलीले घरको चुलोमा आफ्नो पुर्खाहरुको नाममा पितृ पुजा गर्छ । पुजा सकेपछि दाजुभाइले दिदिबहिनीलाई टपरीमा फलफुल तेलमा पकाएको रोटी तरुल र दक्षिणा राखी पुज्ने गरिन्छ नजिकैको चेलीबेटीलाई पुजेपछि गाउँका चेलीबेटीहरु सबैलाई पुज्ने गरिन्छ । यसरी पुज्ने काम सिद्धिएपछि केटीहरु जम्मा भएर नजिकैको खोला तिर गएर पुतली जलाउने चलन छ ।

कपडालाई मान्छेको स्वरुप बनाई चिठ्ठामा राखी मृत्यु भएको ब्यक्तिको सम्झनामा रुदै जलाउने गरिन्छ र उसको सम्झनामा ढुंगा गोलो दिवाल लगाई अग्लो झलाकी बनाएर छोडि दिने चलन छ । त्यसपछि केटीहरुले लगेका रोटी रक्सीहरु बाँडेर खाने चलन छ । त्यसपछि तारा हान्ने प्रक्रिया शुरु गरिन्छ ।

तारा माइतीले थाप्ने र तारा ढाल्ने भान्जा गर्छ । ताराको बिचमा गोलो खालको छोरीचेलीको ऐना र ताराको वरिपरि छोरीचेलीहरुको रिबनहरु थापी मौलिक स्यामभु गीत बाट “सतपुर्खे माइती सतपुर्खे भान्ज हौ भने लगाइ दियो निशानी, स्यामभो लगाइ देयो निशानी” भन्दै तारा हान्ने गरिन्छ ।

तारा लगाएमा पगरी बानी पाती लगाइ बधाई दिएर बोकेर डुलाउने गरिन्छ । तारा लगाउने ब्यक्तिले पनि सम्मान गरे बाफत केही पैसा वा जांड रक्सी दिने गर्दछ । त्यो दिन माइतीले भान्जलाई खिचडी खुवाउने चलन छ र भान्ज कति गतिलो वा सिपालु रहेछ भनेर माइतीले पाइन् नाप्ने गर्दछन् । यसरी तीन दिन या सात दिनपछि भान्जले तारा ढाली पर्वको अन्त्य गरिन्छ ।

कला संस्कृतिले धनी मगर जातिका संस्कार संस्कृति माथी राज्यले आक्रमण गर्‍यो, माओवादीले समेत हतियार बनायो । आज लोप हुने खतरा छ, त्यसैले सबै सचेत बनौं । राजनीतिक र साँस्कृतिक अधिकारको लागि सम्पुर्ण मगर जातिहरु एक ढिक्का भएर आफ्नो पुर्खाको पौरख र स्वाभिमानी इतिहासको रक्षा गर्न जरुरी छ ।

२ माघ २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको