गंगादेवमा थप ३५ जनामा कोभिड पोजेटिभ, अक्सिजन सहितको आइसोलेशन सेन्टर बन्यो

स्वास्थ्य मोबाईल टिम परिचालन


बैशाख ३१, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा थप ३५ जनामा कोभिड- १९ पोजेटिभ देखिएको छ । गाउँपालिका स्वास्थ्य प्रमुख त्रिभुवन घर्ति मगरले जनाए अनुसार ३८ जना मध्ये ३ जनालाई भने नेगेटिभ देखिएको हो ।

केहि दिन अघि ५९ जनाको पिसिआर चेकजाँचका लागि स्वाव संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो । जसमध्ये २१ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको छ ।

मास कन्टयाक ट्रेसिङ परिक्षण

कोभिड -१९ का बिरामीहरु बढ्दै गएपछि स्थानीय तहले ‘मास कन्टयाक ट्रेसिङ’ परिक्षण बढाउने भएको छ । साबिकका गाबिसहरु पाखापानी, रांक, जिनाबाङ र जिनाबाङको कुकुर गारेमा मास कन्टयाक ट्रेसिङ परिक्षण लागु गर्ने भएको गाउँपालिका स्वास्थ्य प्रमुख त्रिभुवन घर्ती मगरले पोष्टपाटीलाई जानकारी दिए । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यलय रोल्पाबाट २ जना प्रयोगशाला बिषयक स्वास्थ्यकर्मीहरु गाउँपालिकाले झिकाई आउदो सोमबार र मंगलबार पिसिआरका लागि स्वाव संकलन गर्ने भएको छ ।

विशेषगरी कोरोना लक्षण भएका बिरामीहरुलाई, कोभिड पोजेटिभ भएका व्यक्तिहरुसंग लसपस भएका र अन्य देशबाट आएका व्यक्तिहरुको समेत स्वाव संकलन गर्ने तयारि भैरहेको स्वास्थ्य प्रमुख घर्तीले बताए । उनले भने ‘कम्तिमा पनि १ सय ५० बढी व्यक्तिहरुको स्वाव संकलन गर्ने लक्ष्य रहेको छ।’

अक्सिजन सहितको आइसोलेशन हस्पिटल

स्थानीय तहले कोभिड संक्रमितहरुको लागि अक्सिजन सहितको आइसोलेशन सेन्टर ब्यबस्थापन गरेको छ । हाल ३ वटा अक्सिजन सहित १० बेडको आइसोलेशन सेन्टर निर्माण भएको स्वास्थ्य प्रमुख त्रिभुवन घर्तीले जानकारी दिए । उनले भने ‘कोभिड संक्रमणको अबस्था हेरी थप अक्सिजन र आइसोलेशन बेडहरु बढाउने तयारिमा छौ ।’

सुकाओढारमा रहेको २ नम्बर वडा कार्यलयको हलमा कोभिड हस्पिटल निर्माण गरिएको छ ।

स्वास्थ्य मोबाईल टिम परिचालन

कोभिड संक्रमण रोकथामका लागि स्थानीय तहमा भएका स्वास्थ्यकर्मीहरुलाई ब्यापक परिचालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । साथै यसअघि कोभिड पोजेटिभ देखिएका बिरामीहरुको अबस्थाको जाँचबुझ तथा रेखदेखका लागि मोबाइल टिम परिचालन गर्ने बताइएको छ ।

त्यसैगरी कोभिड हस्पिटलमा २ जना स्वास्थ्य कर्मी र एक जना कार्यालय सहयोगीको ब्यबस्थापनगरि आउदो आइतबार देखि परिचालन गर्ने भएको छ ।

 

३१ बैशाख २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको