‘सुरक्षा खतराबाट मुलुक जोगाउनुपर्छ’


बैशाख १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सिमानामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन् ।

राजधानीको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सम्पन्न छैटौँ राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘‘खुला सीमाबाट प्रवेश गर्ने हर कोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्नुपर्छ । विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्ने ? परिचयपत्र बोकेर किन हिँड्न सक्दैन मानिस ?’’

हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मानिस के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘म्यान्मारका रोहिङ्ग्या शरणार्थी कसरी आउँछन् यहाँ ? हाम्रो सीमा भारतसँग पो खुला हो म्यान्मारसँग हो र ? विगतमा भुटानसँग थियो र ? ’’

राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा खतराबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरू नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने उनले स्पष्ट पारे ।

हाम्रा निम्ति आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो खतरा भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘‘एक पटक समाजमा आगो लागेपछि कसैले फुकिरहनु पर्दैन आफैँ डढेलो लगाउँदै जान्छ । त्यसकारण जहाँ द्वन्द्व फैलियो नभएको मतमतान्तर र द्वन्द्व बढ्न सक्छ ।’’

देशमा क्रान्ति र परिवर्तनको नाममा विगतमा उत्पात मच्चाएको स्पष्ट गर्दै प्रधानमन्त्रीले भने, ‘‘१७ हजार मानिस त मारिए भने कति सग्ला अपाङ्गता भएका कति विधवा र बेसहारा टुहुरा भए होलान् ?’’ ‘‘मान्छेहरू गाउँमा बस्न नसकेर सहर आए र काठमाडौँ आएपछि पनि लखेट्ने काम भएपछि विदेश जाने लहर सुरु भयो । अहिले हाम्रा युवाको १५ प्रतिशत देश बाहिर छ’’, उनले स्पष्ट पारे।

कुनै संस्थालाई ध्वस्त पार्न त्यहाँभित्र आन्तरिक वैमनस्य सिर्जना गर्नुपर्छ भनिने गरेको तर्फ औँल्याउँदै पार्टीहरूभित्र पनि आन्तरिक द्वन्द्वको स्थिति देखिनु राम्रो नभएको समेत चर्चा गरे।

उनले भने, ‘‘जातीय राज्यका नाममा थुप्रै सलाईका काँटीहरू झोंसिए तर हामीले तत्काल घाँसपात समेत उखेल्ने गरी दमकम प्रयोग ग¥यौँ ।’’ प्रधानमन्त्री ओलीले अब नेपालबाट हिंसाको राजनीति अन्त्य गरिएको बताए । उनले भने, ‘‘हाम्रो देशको यथार्थ विविधता हो, आवश्यकता एकता हो । विविधता सुन्दरता हो र एकता बल हो ।’’

प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वका रूपमा व्याख्या गरे। उनले तालिमले सुरक्षाका विविध पक्ष थप उजागर गर्न र राष्ट्रका विभिन्न निकायबीच समन्वय, सहकार्य र सौहार्दपूर्ण वातावरणको विकास गर्न सहयोगी भूमिका खेलेको विश्वास व्यक्त गरे। गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

१ बैशाख २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको