एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव


भदौ २८, काठमाडौं । सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरुले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरुले संसदमा प्रमुख प्रतिपक्षको भूमिका मुख्य हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका हुन् ।

बैठकपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संसद सहज रुपमा सुचारु गर्नका लागि नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउने निष्कर्ष निकालेको बताए । अध्यक्ष ठाकुरले आजको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि निस्कर्षबिहीन भएको बताए ।

अध्यक्ष ठाकुरले भने, ‘सभामुखजीले प्रयास गर्दै रहनुपर्छ, आजको बैठक निष्कर्षबिहीन भएको छ, सभामुखजीले म प्रयास गर्दै थिएँ, फेरि पनि म प्रयास गरिरहन्छु भन्नुभएको छ ।’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरु नआएकोले बैठक निष्कर्षबिहीन भएको बताइन् । उनले सबै समस्याको समाधान संवादबाटै हुने भएकोले एमाले संवादमा आउनुपर्ने र सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न नमिल्ने बताइन् ।

उनले बैठकमा सभामुख सापकोटालाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरिएको बताइन् । माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै संसद अवरुद्ध गर्दै आएको छ । भदौ २३, २५ र २७ गतेको संसदमा बिरोध गर्दै नाराजुलुश लगाएपछि सभामुख सापकोटाले भदौ २८ गते सर्वदलीय बैठक बोलाएका हुन् ।

२८ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको