भदौ २८, काठमाडौँ । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने षड्यन्त्र गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले त्यसका विरुद्ध आज दिउँसो १ बजे काठमाडौँको खुलामञ्च (सहिद मञ्च) मा आमसभा गर्दैछ ।
विरोधसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपाले जनाएको छ । सभामा नेकपाका महासचिव विप्लवका साथै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (माले) का महासचिव सीपी मैनालीलगायत विभिन्न पार्टीका नेताहरूले सम्बोधन गर्ने भएका छन् । काठमाडौँका तीन ठाउँबाट ११ बजे निस्किने जुलुस खुलामञ्चको सभास्थलमा प्रवेश गर्ने बताइएको छ ।
लैनचौर क्षेत्रबाट निस्कने जुलुसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले गर्नेछन् भने त्यस क्षेत्रमा नेकपाका नुवाकोट, रसुवा, काठमाडौँलगायत जिल्ला समितिहरू र विभिन्न जनवर्गीय सङ्गठन तथा मोर्चाको सहभागिता हुनेछ । यस्तै त्रिपुरेश्वरतिरबाट निस्कने जुलुसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले गर्नेछन् ।
त्यस क्षेत्रबाट निस्कने जुलुुसमा चितवन, धादिङ, मकवानपुर, ललितपुरलगायत जिल्लाबाट आउनेहरू सहभागी हुनेछन् । त्यसैगरी बबरमहलतिरबाट निस्कने जुलुसको नेतृत्व अर्का सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले गर्नेछन् । त्यसमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरलगायत जिल्लाबाट आउने सहभागी हुनेछन् ।
खुलामञ्चमा हुने सभाका लागि लैनचौर, त्रिपुरेश्वर र बबरमहलतिरबाट जुलुस निस्केपछि उक्त जुलुस सुन्धारा हुँदै खुलामञ्चतर्फ अघि बढ्नेछ । सुन्धारामा बन्ने मूल जुलुसको नेतृत्व नेकपाका महासचवि विप्लवले गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस