पूर्वराजाले ज्ञानेन्द्रले नयाँ वर्षको शुभकामना दिँदै दिए यस्तो प्रतिक्रिया

फाइल तस्बिर

चैत ३१, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारिता सबैमा हुनुपर्ने बताएका छन्। उनले यसका निम्ति आपसी भाँडभैलो र द्वन्द्वको अन्त्य हुनुपर्ने बताएका छन्।

नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले मंगलबार भनेका छन्, ‘नेपाली जनताको आकांक्षा पूरा हुँदै जानुपर्छ भन्ने हाम्रो कामना हो।’

उनले नयाँ वर्ष आउँदै जान्छ, स्वभावत: सुख, शान्ति, समुन्नति र सन्तुष्टिको अपेक्षा रहने बताए। तर, समय बित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै जान्छन् भन्दै असन्तुष्टि व्यक्त पनि गरेका छन्।

‘हाम्रा पिता, पुर्खा तथा त्यागी वीर वीरांगनाहरूले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहारसुसार गर्नु र सजाउनु छ,’ उनले भनेका छन्, ‘यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाल बिना भेदभाव र बिना संकोच मिलेर जानु छ।’

शाहले अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवम् वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने बताए। ‘टाठाबाठा मात्र सुखी सम्पन्न, सुविधाभोगी हुँदै जाने अरु निमुखा सर्वसाधारणहरूको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ,’ उनले भनेका छन्।

शाह भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन गएका छन्। उनले उतैबाट सन्देश जारी गर्दै ‘फुटेर हैन, जुटेर शक्ति संरक्षण गरौं जुटेर’ भनेका छन्।

‘एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन, सबैको एउटै उद्देश्य हुनुपर्छ, देशको उन्नति र अधोगति हामीहरूकै हातमा छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनै पर्दछ।’

शाहले पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु अत्यावश्यक रहेको बताएका छन्। शाहले नेपाल हाम्रो पहिचान हो र सनातन हाम्रो संस्कार भन्दै भनेका छन्, ‘न जाति न भाषा, सबै नेपालीको एउटै आशा।’

‘पहाडका गाउँ-गाउँमा आधुनिकताको लहर विस्तार गरौैं, तराईका फाँटहरूलाई झुलाउँ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफूल प्रशोधन बनाऔं, जडिबुटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपूर्ण पारौं,’ शाहले भनेका छन्।

३१ चैत्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको