केपी ओलीलाई तीनपटक प्रधानमन्त्रीबाट हटायौं, चौंथोपटक चाँडै हटाउँछौ: प्रचण्ड

फाइल तस्बिर

चैत २९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओलीलाई तीनपटक प्रधानमन्त्रीबाट आफूहरुले हटाएको दावी गरेका छन् । अब चाँडै चौंथोपटक पनि हटाउने उनले बताए ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ओली नकचरो भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको आरोप लगाए । उनले भने, ‘केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौं । तपाईंहरुले हिसाब गर्नुभाछ त्यो ? एकपटक संसदीय दलमा बहुमतको हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता गर्‍यौं । दल नेताबाट ओलीलाई हटाएर मलाई सर्वसम्मत बनाइयो । संविधानअनुसार दल नेता नरहेपछि प्रम जान्छ नि । जानुपर्ने हो । हामीले त हटाइदियौं । मैले राजनीतिक भाषा बोलेको होइन । कानूनी संवैधानिकरुपमा नै भनिरहेको छु ।’

दोस्रोपटक हटाएको प्रचण्डले यसरी सुनाए । ‘दुई पार्टीको केन्द्रीय समितिको ७० प्रतिशतले केपीलाई पार्टी सदस्यबाट समेत हटाइयो । राष्ट्रविरोधि, लोकतन्त्रविरोधि, संविधानविरोधि काम गरेको तथा पार्टी अनुशासन पालन नगरेको कारणले उनलाई हटाइयो । संविधान–कानूनअनुसार बहुमतले हटायौं भनेर निर्वाचन आयोगमा आफैं उपस्थित भएर पनि भन्यौं । ‘हामी यहाँ छौं’ भन्यौं । तर निर्वाचन आयोगले निर्णय गरेन, जो गर्नैपर्थ्यो। ७० प्रतिशतलाई मान्यता नदिएर ३० प्रतिशतलाई प्रधानमन्त्री भनिराख्न मिल्दै मिल्दैनथ्यो । तर त्यही भयो । हाम्रो तर्फबाट त हामीले जितेकै हो ।’

तेस्रोपटक चाहिँ, उहाँले संसद विघटनको प्रस्ताव गर्नुभो । हामीले त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्यौं । अरु पार्टीले पनि भने । जनता लाखौं सडकमा उत्रे । अदालतले पनि जनताको त्यो देखिसकेपछि संसद विघटनकाविरुद्ध पुनस्थापनाको निर्णय लियो । यति ठूलो निर्णय प्रधानमन्त्रीले गरेको र त्यसलाई अदालतले उल्टाइदिएपछि तुरुन्तै प्रधानमन्त्रीबाट हटाउनुपर्थ्यो । दुनियाँको कोही मान्छे बसिराख्दैन यसरी लाज, घिन पचाएर । तर विडम्बना भन्नुपर्छ, अहिलेसम्म नकच्चरो भएर केपी प्रधानमन्त्री पदमा बसिरहेका छन् । तीनपटक त हामीले हटायौं । अब चौथोपटक केही दिनभित्रै हटाउँछौं । हेरौं चौंथोपटक के हुन्छ ?’

चौंथोपटक कहिले हटाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘केही दिनभित्रै हुन सक्छ ।’ सहमति भयो भने कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने उनले बताए । ‘केपीको निरन्तरताका विपक्षमा उभिनेहरु मिलेर सरकार बनाउने हो,’ प्रचण्डले भने ।

२९ चैत्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको