जेठ २७, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।
एमाले स्रोतका अनुसार पूर्व माओवादी खेमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको एक नेताले बताए ।
सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद रहेका बादलको पद खारेज भएको थियो।
नेकपा एकता खारेज भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए। तर बागमती प्रदेश सभामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको थियो।
कृषिमन्त्री नियुक्त भएकी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस