रुकुम रोल्पाका जनताहरुको लागि प्रचण्डको भाषण खासै नौलो बिषय त होइन । तर यसपाली रुकुममा प्रचण्ड-जनार्दनको कार्यक्रममा केही नौला दृश्यहरु देखिए । “प्रतिक्रियावादी राज्यसत्ता, दलाल पूंजीवादी सत्ता, अमेरिकी साम्राज्यवाद तथा भारतिय बिस्तारबाद” प्रचण्डको मुखबाट यस्तै यस्तै बाक्यहरु सुनेका जनताले यसपालीको कार्यक्रममा यी शब्दहरु निस्किएन ।
के यहि हो त्यो कमान्डर जसलाई हामी कमरेड प्रचण्ड भनेर चिन्थ्यौं भनेर हिजो युद्ध लडेका योद्धाहरुले घरीघरी प्रचण्डलाई नियालीरहेको भान हुन्थ्यो ।
युद्ध मोर्चामा घाइते भएका योद्धाहरु प्रचण्डको एउटा लिखित बक्तब्य आयो भनेपनि फेरि राइफलको ट्रीगर दबाउन लालायित ती योद्धाहरुको अनुहारमा एकपित्को चमक देखिएन ।
२०५७ सालको पहिलो शान्ति बार्तामा सोही ठाउँमा कार्यक्रम हुँदा म पनि त्यहाँ गएको थिएँ । हरेक बक्ताहरु बोलिसकेपछि जनसास्कृतिक नाचगान प्रस्तुत गरिन्थे । उमेरले पाको भएपनि ‘हुरी’ उपनाम गरेका कलाकार दुईहात उफ्रेर नाचेको अझै झल्झली सम्झिन्छु । यसपालीको कार्यक्रममा त्यो जोशजागर कहिँकतै थिएन ।
कार्यकर्तालाई युद्ध मैदानमा ब्रुकब्रुक उफार्न सक्ने त्यही प्रचण्ड यसपाली कर्कलाको पात झैँ गलेको र मुर्झाएको देखिए । न उत्साह थियो कार्यकर्तामा, न उमंग नै बचेको थियो । बरु साउण्ड सिस्टममा गित गाइरहेको कलाकारहरुले मञ्चमा उत्साह थपेका थिए तर त्यो आस्थाको उत्साहमा थिएन । थियो त केवल मनोरञ्जन ।
प्रचण्डको कार्यक्रममा हिजो लालसेनाको सुरक्षाघेरा थियो । ती लालसेनाले प्रचण्डसंग हात मिलाउनुमा जनताहरुमा अबरोध खडा गरेको मलाई याद छैन । निर्बाद रुपमा अंकमाल गर्न सक्थे, दु:खसुख बिसाउन पाउथे, गजबले हात मिलाउन सक्थे । आज फरक थियो, केही टुकडी सरकारी सुरक्षाघेरामा थिए, जसले प्रचण्ड र जनता बीचमा अबरोध समेत खडा गरिरहेका थिए ।
हिजो “हुरी”हरु हावाको बेगमा आगो ओकल्दै त्यस मञ्चमा दुई हात उफ्रीउफ्री नाचेका हुन्थे । आज हुरीको ठाउँ इन्द्रेणीका छत्र शाहीहरुले लिएका थिए । छत्र शाहीहरुलाई अपमान गरिएको पटक्कै होइन ।
हिजो प्रचण्डको दायाँबायाँ जनकलाकारहरु थिए, जसले आस्थाको गित गाउँथ्यो । उसको अघिपछि जनसेना थिए जसले उसको सुरक्षा गरिरहेको थियो । हो, जनताले त्यही रुपमा देख्न चाहेका थिए । जसको लागि मान्छे मात्रै नभएर त्यहाँको ढुंगा, माटो, गाईभैसी र भेडाबाख्रा समेत माओवादी बन्ने तयार भएको हो ।
त्यसरी आज गहिरो बलिदानबाट स्थापित भएको मान्छेलाई त्यही रुपमा देख्न चाहेका थिए ।
माओवादीको कार्यक्रम छ भन्दा उतिबेला काम छोडेर स्वस्फूर्त रुपमा जनताहरु आमसभामा उपस्थित हुने अबस्था थियो । माओवादी नेताहरुका ओजस्वी भाषण र जनकलाकारले प्रस्तुति गरेका सास्कृतिक कार्यक्रमले त्यहीँको त्यहीँ “म पनि क्रान्तिमा होमिन चाहन्छु” भनेर हजारौं हजार युवाहरु लामबद्ध भएका जिउँदा इतिहासहरु थिए ।
तर आज त्यो अबस्था रहेन, कार्यक्रममा जनमास उतार्नको लागि इन्द्रेणीका कलाकारहरु प्रयोग गरियो । प्रचण्डको नाम भन्दा पनि कृष्ण कडेलको इन्द्रेणी टिम आउँदैछ भनेर प्रचार गरिएको थियो । खासमा इन्द्रेणी कार्यक्रम हेर्न भनि बोलाइएको कार्यक्रममा प्रचण्ड र जनार्दनलाई देखेपछी झुकाएर राजनीति गरेको कार्यक्रममा सहभागी एक युवाको टिप्पणी थियो ।
त्यतिखेर प्रचण्ड-जनार्दनहरुको भाषण सुन्न जनसमुदायहरु आतुर हुन्थे तर यसपाली कहिले इन्द्रेणी टिमले दोहोरी शुरु गर्ला भनेर व्यग्र रुपमा जनसमुदायहरु प्रतिक्षारत थिए । जनसमुदाय र प्रचण्ड बीचको यो बिरोधाभाष सम्बन्ध कसरी उत्पन्न हुन पुग्यो ?
पछिल्लो समय दुखि गरिवको सेवामा जुटेको इन्द्रेणीलाई निमुखाहरुले नजिकबाट नियाल्न चाहान्छन, रुकुमका जनार्दनको कुटिल जुक्तिमा त्यही इन्द्रेणीलाई हतियार बनाएर पश्चिम रुकुममा राजनीतिक माहोल सिर्जना गरियो र भनियो ‘प्रचण्ड रूकुम पश्चिम पुग्दा जनसागर उर्लियो’ । त्यसको बास्तबिकता बारे स्वयं कार्यक्रममा सहभागीहरुलाई थाहा छ ।
किनकि, हिजो उनैले प्रतिक्रियावादी भनेको राज्यसत्ताको कित्तामा उभिएका थिए आज । हिजोको दलाल पूंजीवादी सत्ताका बिरोधी आज आफै दलाल पूंजीवादी सत्ताको मुख्य पहरेदार भएर उभिएका थिए । हिजोको अमेरिकी साम्राज्यवाद तथा भारतिय बिस्तारबादका घोरबिरोधी आज आफै उनीहरुको गुलाम भएर निस्केका थिए र हिजो यहि संसदीय प्रणालीका घोर बिरोधी आज त्यही संसद पुनर्स्थापनालाई आफ्नो जीत भएको जिकिर गरिरहेका थिए । र, ओली बादल गुटलाई सत्तोसराप गरिरहेका थिए । तब नजिकै उभिएर प्रचण्डको भाषण सुनिरहेका एकजना पूर्ब जनमुक्ति सेनाको साथीले सानो स्वरमा भनेको सुनियो- “अब तिमी र ओलीमा कुनै तात्त्विक फरक रहेन ।”
प्रतिक्रिया दिनुहोस