एमसीसीबारे ओली र फातिमा सुमारविच के भयो कुराकानी ?


भदौ २४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारलाई आफूहरू अहिले प्रतिपक्षमा भएकाले एमसिसीबारे धारणा नबनाएको बताएका छन्।

बिहीबार दिउँसो ओलीलाई भेट्न सुमारसहित अमेरिकी टोली उनको निवास बालकोट पुगेको थियो। भेटघाटमा सहभागी एमाले नेता राजन भट्टराईले दिएको जानकारी अनुसार ओलीले सरकारमा हुँदा आफूहरूले एमसिसी संसदमा टेबल गरेको भए पनि केही व्यक्तिहरूका कारण अड्किएको बताएका थिए।

‘हामी सत्तामा हुँदा संसदमा टेबल गरेका थियौं तर सभामुखलगायत केही व्यक्तिहरूको भूमिकाका कारण अघि बढ्न सकेन,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराई भने,‘अहिले हामी प्रतिपक्षमा छौं। तपाईंहरूलाई थाहै छ प्रजातन्त्रमा प्रतिपक्षीको भूमिका के हुन्छ। सत्तारूढ गठबन्धन एमसिसीबारे हामीसँग छलफल नै गरेको छैन। अहिले नै हामीले धारणा बनाउनु हतार हुन्छ।’

ओलीले एमसीसी सत्तारुढ दलहरुकै कारण रोकिएको पनि बताएका छन्। ‘जस जसका कारण एमसीसी रोकिएको हो। उनीहरु नै अहिले अलमलमा छन्। उनीहरुले अझैसम्म एमसीसी के गर्ने भन्ने बोलेका छैनन्’, ओलीले बैठकमा भने, ‘सरकार र त्यसमा संलग्न दलहरुले के गर्ने भन्ने पोजिसन बनाएकै छैनन्। उनीहरु पहिले यसबारे निर्णयमा नपुगी हामी प्रतिपक्षले हतार गर्ने अवस्थामा छैनौँ।’

ओलीले एमसीसीबारेमा सत्तारुढ दलहरुले आफूहरुसँग कुनै छलफल र समन्वय पनि नगरेको बताए। ‘एमसीसीबारे सरकारले हामीलाई सोधेको पनि छैन। छलफल पनि नगरेको अवस्था छ’, ओलीले अगाडि भने, ‘यसबारेमा सरकारमा बहुमत भएका दलहरुले क्लियर हुनुपर्यो। उनीहरुसँग बहुमत छ, हामी नहुँदा पनि पास गर्न सक्छन्। त्यसैले यसबारे हामी हतारमा कुनै निर्णय गर्दैनौँ।’

२४ भाद्र २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको