साउन २५, दाङ । दाङको ग्वारखोलामा आएको बाढीले बगाएर आमा-छोराको मृत्यु भएको छ। किनारमै छोडिएका अर्का ६ वर्षका छोराको भने ज्यान जोगिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिस्नेरीकी ३६ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीको ग्वार खोलामा आएको बाढीले बगाएर सोमबार मृत्यु भएको हो।
तीन आमा-छोरा अघिल्लो दिन बेचेको कुखुराको पैसा लिन भनेर तुलसीपुर-१९ पतेनी गएका थिए। त्यसक्रममा क्रममा अमृता र रुद्र खोलामा बगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
बाढी आइरहेको बेला तर्न खोज्दा खोलाले आमा-छोरालाई बगाएको थियो। आमाको शव घटनास्थल भन्दा दुई किलोमिटर दक्षिणमा र छोराको शव एक किलोमिटर दक्षिणमा फेला परेको थियो।
इप्रका तुलसीपुरका प्रमुख अर्यालका अनुसार घर्तीले आफ्नो जेठो छोरो ६ वर्षीय हर्क घर्तीलाई भने खोलाको किनारमा धकेलेर जोगाएकी थिइन्।
‘तीन आमा छोरा कुखुराको पैसा लिन खोला तरेर जाने क्रममा आमाले ६ वर्षीय छोरा हर्कलाई भने खोलामा बाढी आएको हुँदा आफूले बोक्न नसक्ने भन्दै खोला किनारमै छोडेर खोला तर्न खोजेकोले उनी बाँच्न सफल भएको रुद्रले बताएका छन्,’ डिएसपी अर्यालले भने।
सोमबार दिउँसोदेखि बेलुकासम्म दाङ जिल्ला र आसपाका क्षेत्रमा ठूलो वर्षा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस