साउन २५, काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् ।
यसअघि शनिबार १ सय ६९ जना भेन्टिलेटर र ७ सय ४६ जना आईसीयूमा उपचाररत रहेका थिए । गत शुक्रबार १ सय ५८ जना भेन्टिलेटर र ७ सय ३२ जना आईसीयूमा उपचाररत रहेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १ सय ५८ जना भेन्टिलेटरमा र ७ सय १३ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र वीर अस्पतालमा आठ÷आठ जना, टेकु अस्पतालमा १७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११, पाटन अस्पताल ललितपुरमा तीन, निजामती कर्मचारी अस्पतालमा एक र धुलिखेल अस्पतालमा चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रदेश १ मा १ सय ४१ जना आईसीयू र ५२ जना भेन्टिलेटरमा, प्रदेश २ मा तीन जना आईसीयूमा, बाग्मती प्रदेशमा ५ सय १९ आईसीयू र १ सय ४ जना भेन्टिेलेटरमा उपचाररत रहेका छन् । यस्तै, गण्डकी प्रदेशमा ६५ जना आईसीयू र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र १७ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा आठ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
केही दिनयता कोरोना संक्रमित मृत्युदर बढेको पाइएको छ । आइतबार ५९ दिनयता सबैभन्दा उच्च संक्रमित ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । यसअघि गत २९ जेठमा ६१ संक्रमितको मृत्यु भएको थियो ।
पछिल्लो एक सातालाई आधार मान्दा दैनिक ३१ संक्रमितको मृत्यु हुने गरेको छ । गत सोमबारदेखि आइतबारसम्म २ सय १८ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार २३, मंगलबार २४, बुधबार ३५, बिहीबार ३७ संक्रमितको मृत्यु भएको छ ।
यस्तै, शुक्रबार २५ र शनिबार १९ संक्रमितको मृत्यु भएको तथ्याकंले देखाउँछ । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।
यस्तै, देशभर आइतबार थप २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार ९ हजार ३३ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा २ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, ३ हजार ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितमध्ये सबैभन्दा धेरै ७ सय ४० जना काठमाडौंका छन् । यस्तै, भक्तपुरका ५६ र ललितपुरका १ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
सशस्त्र प्रहरी अस्पतालका चिकित्सक डा. प्रवीण नेपाल सो अस्पतालमा बेडभन्दा बढी बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आएको बताए । सो अस्पतालमा कोरोना संक्रमितका लागि १ सय ९० बेड छुट्याइएको छ । उनले नयाँ बिरामी आएको अवस्थामा फर्काेउनुपर्ने अवस्था आएको जनाए । कोरोना संक्रमणको दोस्रो लहरका बेला सो अस्पतालले २ सय ८० भन्दा बढी बेड खडा गरेर उपचार गरेको थियो ।
‘संक्रमित भएर आउनेको संख्या बढ्दै गएको छ, जता सकिन्छ त्यतै बिरामी राखेर उपचार गरिरहेका छौं,’ डा. नेपालले भने, ‘अहिले नै यस्तो स्थिति छ । तेस्रो लहर आएमा थप कठिन हुने हामीहरूको विश्लेषण छ ।’
त्यसो त स्वास्थ्य मन्त्रालयले आगामी १५ असोजदेखि तेस्रो लहर आउन सक्ने आँकलन गरिसकेको छ । कोरोनाविरुद्धको प्रतिकार्यका लागि साउनदेखि जारी गरेको पाँचमहिने द्रुत कार्ययोजनामा सो कार्य उल्लेख छ । कार्ययोजनामा अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित हुन सक्ने मन्त्रालयको प्रक्षेपण छ । त्यसमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने र जसमध्ये ९ हजार ७ सय ९३ जनालाई आईसीयूमा उपचार गर्नुपर्ने आँकलन मन्त्रालयले गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारी भने अहिले नै स्थिति भयावह भइनसकेको बताउँछन् । संक्रमण बढ्दै गएको अवस्थामा अहिलेको पूर्वाधारले थेग्न नसक्ने उनको भनाइ छ ।
‘अहिलेको स्थिति हेर्ने हो भने भयावह मान्न मिल्दैन, यसको मतलव जोखिम छैन भन्ने होइन, संक्रमितहरू बढिरहेका छन्, अस्पताल भरिभराउ छन्,’ डा. अधिकारीले भने, ‘यही क्रममा संक्रमण बढ्दै गयो भने स्वास्थ्यको पूर्वाधारले धान्न सक्दैन ।’
त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एक भिडियो जारी गर्दै कोरोना महामारीले पुनः भयावह रूप लिन लागेको संकेत गरेका छन् । तेस्रो लहरका लक्षण देखिन थालेको भन्दै उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रहसमेत गरिसकेका छन् ।
‘कोरोना महामारीको तेस्रो लहरका लक्षण देखिन थालेका छन्, म यहाँहरूसँग आग्रह गर्दछु कि अत्यन्त आवश्यक परेको बेला मात्रै बाहिर निस्कौं,’ प्रधानमन्त्री देउवाले भिडियो सन्देशमा भनेका छन् ।
‘बाहिर निस्कनुअघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं र बेलाबेलामा साबुन पानीले हात धोऔं, स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड सबै पालना गरौं, सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन । हामी सबै मिलेर मात्रै यो महामारीलाई तह लगाउन सकिन्छ,’ उनले भनेका छन् ।
प्रधानमन्त्रीले राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्थालाई भीडभाड हुनेगरी कार्यक्रम आयोजना नगर्न र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर मात्रै पेसा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस