पुरानो नक्सा राखेर छापेका नयाँ पुस्तक जफत गर्न शिक्षा मन्त्रीको निर्देशन


जेठ २६, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा राखेर छापिएका पुस्तक जफत गर्न निर्देशन दिएका छन्।

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा (लिपुलेक, कालापानी र लिम्पियाधुराविहीन नक्सा) राखेर पुस्तक छाप्दै विक्री गरेको पाइएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन्।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बुधबार भएको ८८ औं बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन पनि दिएका थिए।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन्।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

साथै मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखेर नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए।

२६ जेष्ठ २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको