माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


फागुन २५, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

तत्कालीन एकीकृत नेकपा पार्टीमा रहेका स्थायी समिति सदस्यहरुको बैठक बस्न लागेको हो। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकता भएर बनेको नेकपालाई मान्यता नदिएर पुरानै दुई पार्टी कायम रहने फैसला गरेपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो।

बैठकमा नयाँ परिस्थितिको समीक्षा गर्दै आगामी दिनको रणनीति तय गरिने स्थायी समिति सदस्य मातृका यादवले जानकारी दिए।

नेकपामा रहँदा माओवादी केन्द्रका १९ जना मात्र स्थायी समिति सदस्य थिए। जसमा गृहमन्त्री रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी केपी ओली समूहतर्फ लागेका छन्। आजको बैठकमा उनीहरु उपस्थित नहुने भएका छन्।

‘नेकपा हुँदा माओवादी केन्द्रबाट स्थायी समितिको सदस्य बनेकाहरुको बैठक राखिएको हो,’ यादवले भने। बुधबार संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि बैठकबाट एउटा निष्कर्ष निकाल्ने नेताहरुले बताए।

आजको बैठकले माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बोलाउने संभावना पनि रहेको नेताहरुको भनाइ छ।

२५ फाल्गुन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको