झन् मजबुत बन्दै विपक्षी गठबन्धन, ओलीको विपक्षमा राजेन्द्र महतो

फाइल तस्बिर

बैशाख २५, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दल वैशाख २७ गतेका लागि आह्वान संसद् विशेष अधिवेशनमा कसरी अघि बढ्ने भन्नेबारे तीव्र संवादमा उत्रिएका छन् । कांग्रेसले पदाधिकारी बैठकमार्फतै प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने प्रस्ट पारिसकेको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तासँगै अब फेरि मत नदिने बताएको छ । यी २ दल अन्य विपक्षीलाई समेत आफ्ना कित्तामा ल्याउने प्रयासमा छन् ।

कांग्रेसले अविश्वासको मतका लागि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले माधव नेपाल समूहसँग आन्तरिक छलफल जारी राखेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार अब कसरी अघि बढ्ने भन्ने विषयमा विपक्षी दलबीचमा संवाद जारी छ । विपक्षमा रहेका अन्य दललाई समेत प्रधानमन्त्री ओलीलाई मत नदिन आग्रह गरिने उनले जानकारी दिए ।

गत मंगलवारबाटै विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ ।

बिहीवार साँझ एमाले नेता नेपालले समेत बूढानीलकण्ठस्थित निवास पुगेर देउवालाई भेटेका छन् । भोलिपल्ट शुक्रवार साँझै माओवादी अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।

ललितपुरमा बुधवार विपक्षी दलबीच छलफल नै चलिसकेको छ । छलफलबाट विपक्षी दलले राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धन बनाएर अघि बढ्ने निर्णय भएको थियो ।

प्रधानमन्त्री ओलीले गत बुधवार कांग्रेससँग विश्वासको मत माग्दै सहकार्य प्रस्ताव गरेका थिए । उनले एमाले नेतासहित कांग्रेस सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमै पुगेर विश्वासको मत मागेका हुन् ।

तर कांग्रेसले विश्वास गर्ने वातावरण नभएको भन्दै मत दिन नसकिने जवाफ दिइसकेको छ । सत्ताधारी दलको क्रियाकलाप ठीक नभएको र सरकार पटक–पटक गलत बाटोमा हिँडेको भन्दै कांग्रेसले सरकारलाई सचेत समेत गराएको छ ।

कांग्रेसले कोरोना संक्रमण व्यापक रूपमा बढ्दा समेत सही ढंगबाट काम नगरेको भन्दै सरकारको आलोचना समेत गर्दै आएको छ । बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायत महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै सरकारप्रति कांग्रेस रुष्ट छ ।

उता, जसपा नेता डा. बाबुराम भट्टराई र यादव समेत सरकारसँग रुष्ट छन् । उनीहरूले नेतृत्व गरेको जसपाको ठूलो शक्ति एकातिर हुँदा महन्थ ठाकुर सहितका केही नेता कसरी अघि बढ्ने भन्नेमा प्रस्ट खुल्न सकेका छैनन् ।

यद्यपि नेता राजेन्द्र महतोले भने प्रधानमन्त्री ओलीको कित्तामा उभिन नसक्ने संकेत गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।

२५ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको