चैत २६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा लागेका चार मन्त्रीको सांसद पद रिक्त भएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले माओवादी केन्द्रले संघीय संसद सचिवालयमा पठाएको पत्र पढेर सुनाएपछि चार सांसदको पद गुमेको हो ।
सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दल त्याग गरेको भनी माओवादीले पठाएको पत्र सभामुख सापकोटाले पढेर सुनाएका थिए ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसदले दल त्याग गरेको सूचना संसद बैठकमा पेश गरेपछि पद रिक्त हुन्छ ।
सांसद नभएपछि चारैजनाको मन्त्री पद समेत धरापमा पर्ने देखिन्छ । संसद् सदस्य नरहेको व्यक्ति पनि ६ महिनाका लागि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।
त्यसका लागि शुरूमा मन्त्रीबाट राजीनामा दिएर पुन: नियुक्ति लिनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस