नारी दिवसले रोक्न नसकेको महिला हिंसा


ऋतु मोक्तान ।
केही वर्षयता नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । यसै दिवसको अवसर पारेर महिला हिंसाविरोधी लम्बे अभियान सञ्चालन गरिँदै आएको छ । मार्च ८ लाई नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै रूपमा मनाउन सुरु गरिएको त बीपी कोइराला नेपालको प्रधानमन्त्री हुँदा । महिला दिवस सकिँदा नसकिँदै महिलाहरूको कालरात्रिको आगमन भइसक्छ ।

शुभ बिहानीसँगै ताजा खबरहरुको संगालोको रुपमा आउने पत्रपत्रिकाहरुले दैनिकजसो महिला हिंसा, विभेद र शोषणका घटना बोकेर आएको हुन्छ। जन्म उत्सवदेखि मृत्यु संस्कारसम्म भेदभाव र अपहेलना गरिन्छ ।

हाम्रो समाजले अवलम्बन गर्ने धार्मिक एवं साँस्कृतिक मान्यताले नै महिला र पुरुषलाई असमान गराई विभेद गरेको तितो यथार्थ यो कलिलो मानसपटलमा बसिरहेको छ ।

अशिक्षा, गरिबी, विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्वयवहार एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा जस्ता अमानवीय व्यवहार सहन बाध्य भएका छन् नेपाली महिला ।

महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सृजना गर्नु यस दिवसको परिलक्ष्य हो। राजनीतिक तवरबाट सुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन्।

संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन् १९०८ को महिला कपडा तथा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ मा पहिलो पटक नारी दिवसको आयोजना गरेको थियो। त्यसैले ८ मार्चलाई महिला दिवसको रूपमा मनाइन थालियो। पहिलो पटक नारीलाई मताधिकारको अधिकार न्युजिल्याण्ड, अष्ट्रेलिया र फिनल्याण्डमा मात्र थियो तर संयुक्त राष्ट्र संघको निर्णय अनुसार अन्य देशहरुले समेत यो अधिकार क्रमश प्रदान गर्न थालेका हुन् । अधिकार भने विसं २००७ सालबाट प्रजातन्त्रको प्राप्ती सँगै भएको हो।

विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । श्रीलंकामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत तत्तत् देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे ।

घरेलु हिंसा कसूर र सजाय ऐन, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन, राष्ट्रिय महिला आयोग ऐन यसका केही प्रतिनिधि ऐनहरु हुन जुन ऐनमा महिलाका हक अधिकार र उनीहरु विरुद्धका कार्य कसूरजन्य हुने भनी बोलेको देखिन्छ छ।कतिपय महिलाहरूको छोरी भएर जन्मिएकोमा आफैंप्रति ठूलो गुनासो छ । तर, म छोरी भएर जन्मिएकोमा गर्व गर्छु । किनकि, छोरी भनेका यस सृष्टिलाई निरन्तरता दिने सिर्जना शक्ति भएकी आमा हुन् । भ्रुणदेखि नै छोरीहरूमाथि गरिने भेदभावले उनीहरूको शारीरिक र मानसिक बनोटमा समेत प्रतिकूल प्रभाव पर्न जान्छ । म तमाम आमाहरुलाई अनुरोध गर्छु-‘छोरीहरूमाथि भ्रुणदेखि नै अन्याय नगर्नुस् । छोरीप्रति गर्व गर्नुहोस् र छोरासरह व्यवहार गर्नुहोस् ।‘

अनुत्पादक घरेलु श्रममा नेपाली महिलाहरूको झन्डै ९० प्रतिशत समय व्यतीत भइरहेको छ । सबभन्दा बढी श्रम महिलाले गरे पनि उनीहरु नै सबभन्दा अन्याय सहन बाध्य छन् । यसको प्रमुख कारक घरायसी अनुत्पादक श्रम हो । महिलालाई दासी बनाउने यस्ता विभेदकारी कार्यव

नियन्त्रण गर्ने कार्यकारी निकाय, नियमन गर्ने नियामक निकाय र न्याय दिलाउने स्वतन्त्र, स्वच्छ एवं सक्षम न्यायपालिका हुँदाहुँदै पनि दिनहुँजसो घट्ने लैंगिक एवं यौन हिंसा विरुद्धका कसूरमा राज्यको यथेष्ठ ध्यान पुग्न नसकेको देखिन्छ।

हाम्रो समाजमा घट्ने कतिपय यस्तै घटनाहरु त पीडितले आप्नो इज्जत, डर, प्रतिष्ठा र धम्कीको कारण लुकाई छिपाई राखि सार्वजनिक गर्न सकेका छैनन्। सार्वजनिक भएका कतिपय घटनाहरुमा वास्तविक अनुसन्धान नहुनु, दोषी पनि जमानत तथा धरौटीमा छुट्नु तथा अन्तिम फैसलामा उन्मुत्ति दिई सफाई दिँदा यी र यस्ता घटनाले थप प्रश्रय पाउने अवस्थाको विद्यमानता निर्विकल्प देखिन्छ ।

महिला हिंसा र विभेदको अन्त्य गरी पीडित महिलालाई क्षतिपूर्ति सहितको न्याय दिलाई महिलाको हक अधिकारको संरक्षण गर्दै नीतिगत कानुनी एवं व्यवहारगत सुधार होस्, हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्दै निर्णायक तहमा महिलाको स्थान सुरक्षित रहोस्, महिला हिंसासँग सम्बन्धीत मुद्दाहरु न्यायलयका न्यायमूर्तिहरुबाट विशेष महत्वका साथ हेरिउन्। यौन हिंसाका घटना समाजमा पुनः नदोरिउन, हरेक महिलाले सुरक्षित साथ यो समाजमा जीवन जिउन सकून् ।

संघर्ष र अधिकार प्राप्तिको ऐतिहासिक दिन मार्च ८ हो । पहिलेदेखि नै हुँदै आएका विभेदलाई कम गर्दै थप उपलब्धितर्फ बढ्ने उत्साह सञ्चय गर्नु नै साँचो अर्थमा महिला दिवस मनाउनु हो । साथै हरेक महिलाले मुलुकमा राज्य र न्याय भएको आभास गर्न सकुन्, अन्तमा नारी दिवसको सबैमा शुभकामना ।

२४ फाल्गुन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको