संसद पुनर्स्थापना भए राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइन्छ: गगन थापा


पुस २४, काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्रबार भक्तपुरमा आयोजित बिरोध सभामा नेता थापाले नेपालको संविधानमा ५ वर्षअघि संसद विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताए ।

संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहिँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताए ।

संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाईने बताए । काँग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै बिरोधमा उत्रिएको नेता थापाको भनाई छ ।

सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले बताए । नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाई छ ।

नेता थापाले अदालतले संसद पुनस्र्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे । असंवैधानिक कदमका विरुद्ध काँग्रेस दह्रोगरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उनको भनाई छ । काँग्रेसले सरकारको यस कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।

२४ पुष २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको