प्रधानमन्त्रीको प्रश्न- पचास वर्षअघि गणतन्त्रका लागि संघर्षको मैदानमा उत्रिने अरु कोही थियो ?


पुस २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ओली समूह) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल जाँदैमा कुनै फरक नपर्ने बताएका छन् ।

धनगढीमा आज आयोजित कार्यक्रममा बोल्दै उनले ‘पिलो निचोरेर वजन कम नहुने’ भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति व्यङ्ग्य समेत गरेका छन् ।

सम्बोधनका क्रममा उनले मन्त्री नबनाउँदा कतिपय आफ्नाविरुद्ध लागेको आरोप लगाए ।‘जीवन शर्माको एउटा गीत छ नि, पिलो निचोरिँदैमा वजन कम हुँदैन,’ प्रधानमन्त्रीले ओलीले भने, ‘यो देश बनाउने उद्देश्य कमजोर भएको हुन्न, यो देशको जनतालाई सुखी र समृद्ध बनाउने उद्देश्य कमजोर भएको हुन्न ।’

उनले आफ्नो खराब तत्वहरुलाई जनताले नै ठेगान लगाउनुपर्ने नत्र माथि (सत्तामा) गएर दुःख भन्दै धनगढीवासीलाई त्यस्ता तत्वलाई भोट नहाल्न समेत आग्रह गरे । उनले निर्धारित मितिमै चुनाव हुने दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफू ५० वर्षअघि गणतन्त्रका लागि संघर्ष गरेको तर अहिले कतिले गणतन्त्र नै खतरामा पारेको भन्दै टिप्पणी गरेको बताए । ‘अहिले देशमा संकटजस्तो स्थिति देखा परेको छ, संविधान जाने भयो, गणतन्त्र जाने भयो भनेर कराइरहेका छन्, पचास वर्षअघि गणतन्त्रका लागि संघर्षको मैदानमा उत्रिने अरु कोही थियो ? त्यो त मै होला नि,’ ओलीले भने, ‘अहिले गणतन्त्र संकटमा पर्यो भनेर हल्ला फैलाइन्छ ।’

उनले यसअघि भारतले नाकाबन्दी लगाउँदा आफूले डटेर सामना गरेको र चीनतर्फका नाका जोड्न पनि बाटाहरु निर्माण भइरहेको बताए ।

‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दीको डटेर सामना गरें, त्यस्तो नाकाबन्दीका विरुद्ध राष्ट्रिय अडान रहेकाले सामना गर्यौं, अहिले चीन जाने अन्य बाटोहरु पनि खुला गरिन लागेको छ, बाटाहरु बन्दैछन्, लिम्पियाधुरा, लिपुलेक र कालोपानी हाम्रो भूमि हो,’ उनले भने ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि केही शक्तिहरु आफूविरुद्ध लागेको उनले दाबी गरे । ‘हडपिएको हाम्रो भू–भाग सामेल गरेर नक्सा प्रकाशित गर्यौं, त्यसपछि केहीलाई छटपटी भयो,’ओलीले भने ।

उनले आफूले मन्त्री नबनाउँदा केहीले आफ्नो विरोध गर्दै हिँडेको पनि बताए । ‘मैले मन्त्री गराएका बेला केपी ओली ठीक थियो भन्नेले पनिले पनि अहिले विरोध गरेको देख्छु, मैले एकजनालाई मात्र मन्त्री बनाइरहन मानिनँ । उहाँलाई पीर पर्यो ।’ उनले भने ।

२४ पुष २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको