बागमती प्रदेश सरकारले बढायो गाडी भाडा [भाडादरसहित]

फाइल तस्बीर

असोज २१, काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढाएको छ ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन ।

उपत्यकाभित्र सन्चालन हुने सार्वजनिक सवारी साधनको हकमा भने न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँसम्म भाडा कायम गरिएको छ ।

१८ रुपैयाँ भाडा ५ किलोमिटरसम्मको दुरीका लागि हो । पाँच किलोमिटर भन्दा कम दुरीको यात्रा गरे पनि १८ रुपैयाँ नै तिर्नुपर्ने छ ।

१० किलोमिटरसम्मको दुरीमा यात्रा गर्दा २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ, २० किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरभन्दा बढी दुरीको लागि ३५ रुपैयाँ भाडा तिर्नु पर्ने छ ।

यस्तै यात्रुहरुले १५ किलोसम्मको सामानको भाडा तिर्नु पर्ने छैन । तर १५ किलोभन्दा बढी १० केजीसम्म सामानको प्रतिकिलो ५ रुपैयाँको दरले थप भाडा तिर्नु पर्ने छ ।

यातायात व्यवसायीले यो भाडा वृद्धि कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले भाडा दर संशोधन नगरे आफैं भाडा बढाएर लागू गर्ने चेतावनी दिएका छन् ।

सार्वजनिक गाडीको भाडा बढाउन माग गर्दै यसअघि यातायात व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले दशैंको मुखैमा गाडी नचलाइदिंदा यात्रुहरु मर्कामा परेका थिए ।

त्यसलगत्तै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशतले भाडा वृद्धिको निर्णय गरेको हो । डिलक्स सुविधा भएका गाडीले भने यसमा पनि थप २० प्रतिशत बढी भाडा लिन पाउने छन् ।

२१ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको