माओवादीले मन्त्री छान्यो, अरूमा रडाको


असोज २१, काठमाडौं । सत्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ।

मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत चयन गरेको छैन। असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन। ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन मिलाउनुपर्छ भन्ने हाम्रो माग हो,’ एसका महासचिव बेदुराम भुसालले भने।

एसका अध्यक्ष माधव नेपालकै कारण सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएका थिए। उनले अढाइ महिनासम्म मन्त्रिपरिषद्को विस्तार गर्न सकेका छैनन्।

प्रधानमन्त्री भएपछि देउवा एक्लै अघि बढ्ने प्रयासमा छन्। महासचिव भुसालले मन्त्री छनौटका सम्बन्धमा बुधबार कुनै बैठक नबसेको बताए। सत्ता गठनबन्धनबीच मन्त्रालयको संख्या र नाममा मंगलबार भागबण्डा गरियो। एसको भागमा सहरी, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कानुन, मन्त्रालय परेको थियो। एसले शक्तिशाली, विकासे र सेवा दिने मन्त्रालयको सन्तुलनकारी वितरण हुनुपर्ने माग गरेको छ। शक्तिशाली मानिने मन्त्रालय आफ्नो भागमा नपरेको भन्दै एसले असन्तुष्टि जनाएको हो।

मन्त्रीका लागि एसबाट विरोध खतिवडा, प्रेम आलेमगर, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, किसान श्रेष्ठ र भवानी खापुङ मन्त्रीका आकांक्षी छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छनोट प्रक्रिया थालेका छन्। पार्टीको स्थायी समितिको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुग्याएको केन्द्रका केन्द्रीय सदस्य महेश्वर गहतराजले बताए। केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ। यसअघि जनार्दन शर्मा–अर्थ र पम्फा भुसाल–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन्। शर्मा र भुसाल असार २९ मा नै मन्त्री भएका थिए। मन्त्री छनौट भएका गहतराजले दलहरूबीचको सहमतिअनुसार मन्त्रालय टुंग्याइने बताए। मन्त्री छनौटमा परेका चारै जना नयाँ अनुहार हुन्।

जसपामा शीर्ष नेतालाई जिम्मा

जसपा कार्यकारिणीको बैठकमा मन्त्रीको नाम तय गर्न नसकेको र पछि शीर्ष नेतालाई जिम्मा दिइएको छ। अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छनौटको जिम्मा दिएको यादवका प्रेस संयोजक महेश चौरसियाले बताए। मन्त्रीका लागि जसपाका मो. इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, रेणुकुमारी यादव, अमृता अग्रहरी, प्रमोद साहलगायतको दाबी छ।

कांग्रेस बैठक निष्कर्षविहीन

सत्तारुढ दल कांग्रेसको मन्त्री छान्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री देउवाले मन्त्री छनौटका लागि भनेर शीर्ष नेताको बैठक बोलाएका थिए। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायतका नेता सहभागी थिए। पौडेल समूहको असन्तुष्टिका कारण मन्त्रीको नाम नटुंग्गिएको एक नेताले बताए।

पौडेलले तीन मन्त्रालय मागेको र देउवाले दिन नसक्ने भनेपछि बैठक नै निष्कर्षविहीन भएको छ। कांग्रेसमा मन्त्रीका आंकाक्षी धेरै छन्। कांग्रेसबाट मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दीलेन्द्रप्रसाद बडु, उमाकान्त चौधरी, पुष्पा भुसाल, राजन केसी किशोरसिंह राठौर, डिना उपाध्याय, मीन विश्वकर्मालगायतको नाम मन्त्रीको चर्चामा छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

२१ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको