ए खुवालुङ् दिव्य ज्योति बनि देउ !!


  • भवानी लिम्बु

मुधुमको अङ्ग बनेर
ए खुवालुङ्
तमोर,अरुण र दुधकोशीको
संगम स्थलमा
ताबे रङ्गको आकृतिमा
सर्पले फंडा फुलाएर जस्तो
दक्षिणतर्फ ठडिएर
किँरातीको अस्तित्व बोकेर
पानीको बेग सहेर
लुकामारी खेल्दै
सदियौं देखि
हाम्रो पहिचान
हाम्रो ऐतिहासिकता
बचाई दिएका छौ,
रची दिएका छौ |

“ख्वा वा खुवा” को अर्थ
बारम्बार गाईने/धाइने ठाँउ वा
नदि/बटुके ढुङ्गा भने पनि
भाषा बचाई दिएको छौ ।
अस्तित्व बचाई दिएका छौ ।

किँरातीको अस्तित्व बनेर
पानीकाे छालसँग जुध्दै
मैदानबाट पूर्व हिडेका
किँराती दाजुभाइले
जुरेली चराको
भोग खुवाएर
गरेको प्राथनाले
यात्रा सफल पार्नु
बरदान साबित
भएपछि
बुसुरीको सन्तानलाई
नदी तर्नु सहयोग गरेर
हामीले अस्तित्व बचाई दिएका छौ ।
त्यहि भएर नै
जुरेली चरालाई
किँरातीहरुले बाण हानेर
भोक नमेटाएको मिथक अझै नभएको होइन |

बुसुरीको सन्तानले नदि पार गरेपछि
वाछापा र छछपाको सन्तानहरु आउँदा
पानिभित्र लुकेर बस्दा
खुवालुङ्लाई
आफ्नै चेलीको
दाहिने औंलाको
कान्छी औंलो
काटेर भोग दिएर
नदी तर्नु दिएका थियौ ।
त्यसैले आज हाम्रो अस्तित्व बचेको छ |

तिमीलाई दिएको
चेलीको रगत
नदी पार गर्दा पनि
नरोकिएर
मृत्यु हुँदा
चेलीको रगत
केराको पातमा लागेर
बाख्राले खादा
त्यहिँ मृत्यु भएर
किँरातीहरुले
बाख्राको मासु नखाएको
कथनहरु नभएको पनि होइन ।

हाम्रो पहिचान बचाउने खुवालुङ्
तिम्रो शिर छेदन गर्नु
शासकले जमर्को गर्दैगर्दा
माफियासँग मिलेर
आफ्नो स्वार्थ पूरा गर्नुको खातिर
तिमी बाधक बनि
उभिएको छाै भनेर
आरोपहरु लाग्दै गर्दा
मेरो अस्तित्वको
खोजि गर्नु
आज जमर्को गर्दैछु ।

तिमी बाँधक भएको
बाहानामा हजारौ मान्छे भेला गरी
समृद्विका कथा सुनाउदै
रातो किताबमा तिम्रो हत्या गर्ने
योजनाको लागि
बजेटहरु नछुटिएको पनि होइन |

हुन त तिम्रा गुण
बिर्सने तिनै किँरातीहरु
आज शासकको पुच्छर बनेर
आफ्नो स्वार्थ पूरा गर्नु
स्वार्थी बन्दै गर्दा
पानी भित्र पुनः लुक्नु
मन लाग्छ होला ?
सराप दिनु मन लाग्छ होला ?

ए खुवालुङ्
एक पल्ट पुन:
हाम्रो अस्तित्वको लागि
हाम्रो सभ्यताको लागि
हाम्रो भावी पुस्ताको लागि
सेसेसाङ्सेमी-लासेमी (दिव्य ज्योति) बनि देउ
हाम्रो अस्तित्व बचाई देउ |

२४ जेष्ठ २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको