प्रधानमन्त्री ज्यु नमस्कार !
सम्झेको छु । अति नै सम्झेको छु । दु:खको यो क्षणमा सम्झिने भनेकै अभिबाबकलाई रहेछ । तपाइँ हाम्रो अभिबाबक हो । यसै त तपाइँलाई निकटतम मान्छेहरुले “बा” भनेको सुन्छु । सबैको “बा” बनिदिनुस न है ।
तपाइँ र मेरो बिचार बिलकुलै मिल्दैन । तर यो बैचारिक बहसको समय होइन । जीवन र मृत्युको भलाकुसारी गरौं भनेर तपाइँलाई खुल्ला पत्र लेखिरहेको छु ।
काल नजिकै आएको छ । मैले काललाई नियालिरहेको छु । दुईहात पारीबाट मलाई घुरिरहेको छ । के थाहा, यो पत्र लेखुन्जेल मलाई भेट्टाइ पो हाल्छ कि ?
पल्लोघरे काका एम्बुलेन्स नपाएर बेली बितिगए । अस्तिको दिन एकजनाले ट्रकमै देह त्यागे । एकजना बिरामी त मरेपछि मात्रै अस्पतालको ढोका खुल्यो । अस्पतालहरु पनि रोगसँग त्रायमान भएको हो कि ?
अब त आर्यघाटको ठाउँ पनि साघुरिदै गयो रे । र, त्यसलाई बिस्तार गर्न युद्धस्तरमा काम भइरहेको छ रे । आर्यघाटको बदलामा पहिले अस्थायी अस्पतालहरु निर्माण गरे कसो होला ? मान्छेहरु मर्नबाट बचाइयो भने आर्यघाटको चाप अलिकती कम्ती हुन्थ्यो कि ? मलाई थाहा छ, तपाइँलाई अरुको सुझाब सुन्ने बानी छैन । कर्तब्य ठानेर सुचित गरेको मात्रै हो ।
स्याटेलाइटबाट बिजुली निकाल्छु भन्यौ, पत्यायौं । पूर्बपश्चिम रेल ल्याउछु भन्यौ, पत्यायौं । हावाबाट बिजुली निकाल्छु भन्यौ, पत्यायौं । नेपालबाट टुइन बिस्थापित गर्छु भन्यौ, पत्यायौं । साउदी अरबलाई पेट्रोल बेच्छौँ भन्यौ, पत्यायौं । घरघरमा ग्यास पाइप बिछ्याउछु भन्यौ, पत्यायौं । पानी जहाज ल्याउछु भन्यौ, पत्यायौं । सरकारले बिस्तारामै खाना ल्याइदिन्छ भन्यौ, पत्यायौं । यी मध्ये के कति बाचाहरु पुराभए, भो बाचेपछि बिस्तारै छलफल गरौंला ।
तर हिजोअस्ती मात्रै “जनतालाई मर्न दिन्न” भनेर बोलेको सुने । एम्बुलेन्स, अक्सिजन नपाएर, अस्पतालमा भर्ना नपाएर, कोहि अस्पतालमा भर्न हुने हैसियत नभएर जनताहरुको मृत्युको सिलसिला चलिरहेको छ । ती जनता थिएनन् कि ? कतै तपाइँलाई “बा” भन्नेहरु मात्र जनता हुन् ?
केहिदिन अगाडिको संबोधनमा सबै नेपालीले खोप लगाइसक्ने घोषणा गर्नुभएको थियो । सरकारले भारतीय कम्पनी सेरुमसंग ५० लाख खोप ल्याउने प्रक्रिया अघि बढाएकै बेला तपाइँकै छत्रछाँयाका दलालीहरुको ३२ करोड ४३ लाख कमिशन खाने चक्करले तीन करोड नेपालीको खोप लगाउने सपनामाथि कुठाराघात भएको छ ।
स्वास्थ्यमन्त्रीले खोप ल्याउन अवरोध तपाईँकै मान्छेले गरेको भनेर ध्यानाकर्षण गराउँदा तपाइँले ‘ए हो र ?’ भनेर टार्नु भएछ । यहि कारण हो कि आजभोली स्वास्थ्यमन्त्रीसंग तपाइँको सम्बन्ध पनि त्यति सुमधुर छैन भन्ने सुनिन्छ ।
त्यो ३२ करोड ४३ लाख कमिशनवाला दलालहरुलाई तपाइँले नेपाल भ्रमण बर्ष २०२० को संयोजक बनाएका व्यापारी सुरज वैद्य र विजय दुगडहरु थिए भन्ने कुरा भुल्नु भो कि ? आज तपाइँकै संरक्षण गरेका मान्छेहरुकै कारणले स्वास्थ्य मन्त्रालयको खोप ल्याउने प्रक्रियामाथि रोक नै लगाएको छ । एउटा हैसियत नभएका दलालहरुको यतिबिधी चुरिफुरी किन बढेको होला ? राज्य त निकै निकम्मा भयो त “बा” ।
बिस्वासको मत पछि लिउला अनि अबिस्वासको प्रस्ताव पनि पछि दर्ता गरौंला । चुनाबमा जाने किन यति हतार तपाइँलाई ? भोट हाल्ने जनतै नरहे चुनाबको के तात्पर्य ? कसले भोट हाल्छ ? राजनिती कसको लागि ? जनताको लागि होइन ? जनतै नरहे केमाथी राजनिती गर्नुहुन्छ ? बाचे त राजनिती पछि पनि गरौंला नि । कति शितलनिबास धाउनु हुन्छ ? बाचे त पछि धाउला नि । पहिले हामीलाई बचाउनुहोस । हाम्रो निकै निकट आइपुगेको छ महाकाल ।
अन्तिममा मेरो सुझाब, मोदीको चुनाबको परिणामले अहिले भारतमा तबाह मच्चिसकेको छ । यसले भारतिय शासकहरुको हैसियत छर्लङ्ग देखाइदियो । कृपया तपाइँहरु पनि हैसियत देखाउने होडबाजीमा किन लाग्नुहुन्छ ? हैसियत त पहिलै देखिसकेका छौँ नि । यति भन्दै बिदा !
पृथीछक बुढा मगर ।
रुकुम पूर्ब ।
हाल: काठमाडौ ।
प्रतिक्रिया दिनुहोस