पुस २३, काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभियोग लगाउँदै पेश गरेको प्रस्तावले नै पार्टी विभाजनको औपचारिक घोषणा गरेको बताएका छन् ।
सिन्धुपाल्चोकमा आयोजित ओली पक्षीय भेलालाई सम्बोधन गर्दै नेकपाका नेता समेत रहेका पोखरेलले प्रधानमन्त्रीलाई भ्रष्टाचारको अभियोग लगायत आरोप लगाएर प्रस्ताव पेश गरेकै कारण नेकपा विभाजन भएको बताए ।
‘प्रथम अध्यक्ष’ ओलीलाई आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि फिर्ता लिन आग्रह गर्दा समेत नमानेकाले विभाजनको अवस्था आएको नेता पोखरेलले बताए । अझै पनि नेकपा एकीकृत गर्ने सम्भावना रहेको उनले बताए ।
‘प्रधानमन्त्रीमाथि लगाइएको अभियोगपत्र फिर्ता लिने र निर्वाचनमा सँगै मिलेर जाने भए अझै पनि एकता हुनसक्छ,’ पोखरेलले भने, ‘यी कुरा नमान्ने हो भने सहमति हुँदैन ।’
प्रचण्डले पार्टीका काममा ध्यान नदिएपछि कार्यकारी अध्यक्षको भूमिका खोसिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस